काठमाडौँ–तराई Fast Track मार्फत यात्रा गर्न कति पैसा बुझाउनु पर्छ ?

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँ–तराई द्रुतमार्गको काम ३१ प्रतिशत सकिएको नेपाली सेनाले जानकारी दिएको छ । २०८३ सालको चैत भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि सोअनुसारको काम हुन नसकेको सेनाले स्वीकार गरेको छ । नेपाली सेनाका अनुसार हाल ३१ प्रतिशत मात्रै काम सम्पन्न भएपछि तोकिएको अवधि भित्रमा आयोजनाको काम सक्ने गरी काम भइरहेको छ ।
काठमाडौँको खोकनादेखि बाराको निजगढसम्म बन्ने यो द्रुतमार्गको लम्बाई ७१ किलोमिटर हुनेछ । आयोजनाको लम्बाई काठमाडौँमा ४.६ किलोमिटर, ललितपुरमा ९ किलोमिटर र मकवानपुरमा ४९.७० किलोमिटर दूरी हुनेछ । यस्तै, बारामा ७.६ किलोमिटर दूरी हुनेछ । यो द्रुतमार्गको निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यात्रा तय गर्नका लागि निश्चित रकम बुझाउनुपर्ने हुन्छ ।

यो आयोजना बनेपछि काठमाडौँदेखि तराईमा २ घण्टामा नै पुगिनेछ । यसको अर्थ, काठमाडौँदेखि बाराको निजगढ २ घण्टाभन्दा अगावै पुगिनेछ । तर, यो द्रुतमार्गमार्फत यात्रा गर्नका लागि सवारी साधनहरूले फरक–फरक भाडा (टोल) बुझाउनुपर्ने हुन्छ । नेपाली सेनाले हाल कायम गरेको टोल (भाडा दर) तीन प्रकारको छ ।

तीन द्रुतमार्गमा यात्रा गर्ने सवारीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ । यस्तै, निजगढदेखि खोकनासम्मको दूरीलाई समेत तीन श्रेणीमा वर्गीकरण गरिएको छ । द्रुतमार्गमार्फत निजगढदेखि हेटौँडासम्म यात्रा गर्न कार, साना बस र साना ट्रकले ३०० रुपैयाँ दस्तुर बुझाउनुपर्ने हुन्छ । यस्तै, सोही सवारी साधनले हेटौँडादेखि खोकनासम्मको यात्रा गर्न ६०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ भने निजगढदेखि खोकनासम्मको यात्राका लागि ९०० रुपैयाँ बुझाउनुपर्ने छ ।

यसैगरी, मध्यम स्तरका बस र ट्रकमार्फत निजगढदेखि हेटौँडाको यात्रा तय गर्न ६०० रुपैयाँ, हेटौँडादेखि खोकनाको यात्रा तय गर्न १३०० रुपैयाँ र निजगढदेखि खोकनासम्मको यात्रा तय गर्न १९०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यसबाहेक, ठुला बस र ट्रकमार्फत निजगढदेखि हेटौँडाको यात्रा तय गर्नका लागि ८०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यस्तै, हेटौँडादेखि खोकनाको यात्रा पार गर्नका लागि १८०० र निजगढदेखि खोकनासम्मको यात्रा पार गर्नका लागि २६०० रुपैयाँ बुझाउनुपर्ने सेनाले जनाएको छ ।

तर, यो रकम पेट्रोलियम पदार्थको मूल्यमा आधारित हुनेछ । द्रुतमार्गको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदाको समयमा पेट्रोलियम पदार्थको मूल्य घटेमा टोल (भाडा दर) पनि घट्नेछ । यस्तै, पेट्रोलियम पदार्थको मूल्य बढेको खण्डमा मूल्य समेत बढ्ने नेपाली सेनाले जनाकारी दिएको छ ।

साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्