हिन्दुराष्ट्रको मागसहित १ हजार ६१ जना महासमिति सदस्यको हस्ताक्षर देउवालाई बुझाइयो

सर्वज्योति
  • ख-
  • ख+

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुबाट सुरु गरिएको वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानले एक हजार ६१ जनाको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ ।

महासमिति बैठक समापनको सुरुमा अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएको अभियानका सहसंयोजक लोकेश ढकालले जानकारी गराए । ढकालका अनुसार पूर्वमहामन्त्री डा।शंशाक कोइराला सहित ४२ जना केन्द्रीय सदस्यले त्यसमा हस्ताक्षर गरेका छन् ।

सोमबारदेखि सुरु भएको महासमिति बैठकमा पहिलो दिनदेखि नै अभियानकर्मीहरुले हस्ताक्षर संकलन गरिरहेका थिए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको महासमिति बैठकको हल अगाडि अभियानका अगुवाहरु पाल टाँगेर हस्ताक्षर गराउन जुटेका थिए । हिन्दुराष्ट्रको एजेण्डाले भने महासमिति बैठकमा छलफलको विषय बनेन ।

यसअघिको महासमिति बैठकमा पनि हिन्दुराष्ट्रको पक्षमा ७१४ जनाले हस्ताक्षर गरेर सभापतिलाई बुझाइएको थियो । २२ जना केन्द्रीय सदस्यले हिन्दुराष्ट्रको एजेण्डामा महासमिति बैठकमा छलफलको एजेण्डा बनाउनुपर्ने माग सहित सभापति देउवालाई हस्ताक्षर बुझाएका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्