पौने दुई करोड रुपैयाँ हिनामिना गरेर प्रभु बैंकका कर्मचारी फरार

सर्वज्योति
  • ख-
  • ख+

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाहले हिनामिना गरेकोमध्ये करिब ६८ लाख रकम बैंकले बचतकर्ता फिर्ता गरेको छ ।

आफ्नो बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएको भन्दै बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा धर्ना दिनुका साथै प्रहरीमा निवेदन दिएका थिए ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रमुख नवीन मरासिनीले ६८ लाख फिर्ता गरेको सूचना पाएको नेपाल प्रेसलाई बताए । ‘१९ जनाले ठगिएको मुद्दा दिएकोमा बैंकले क्रमशः फिर्ता गर्दै गएको छ । निवेदनअनुसार करिब पौने २ करोड ठगिएकोमध्ये ६८ लाख फिर्ता भएको र अरू फिर्ता गर्ने क्रममा रहेको छ । प्रहरीले अनुसन्धान गरिरहेकाले कति रकम अपचलन भएको भन्ने खुलेको छैन, बैंकले आन्तरिक तरिकाले दिँदै गएको छ, प्रहरीले पनि मुद्दाको विषयमा अनुसन्धान गदरिरहेको छ’, उनले भने ।

बैंकका कर्णाली प्रदेश कार्यालय इञ्चार्ज शरद तिमिल्सिनाले बैंकको आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज निरजविक्रम शाहले हिनामिना गरेकोमध्ये करिब ७० लाख जति रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको पत्रकारलाई बताएका छन् ।

प्रारम्भिक अनुसन्धान गर्दा पीडित देखिन आएका १४ जनाको ७० लाख जति रकम बैंकले फिर्ता गरेको र रेकर्ड रहेका थप पीडितको विवरण उपलब्ध खोजेर अब थप निवेदन आए अगाडि बढाइने उनले जनाएका छन् ।

बैंकका अपरेसन इन्चार्ज शाहले बैंकका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्नुका साथै अन्य खातामा सारेको पाइएको छ । आरोपित शाह हालसम्म फरार छन् । उनी छिमेकी देश भारतमा लुकीछिपी बसेको अनुमान प्रहरीको छ ।

आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज शाहले अन्य केही स्थानीयसँग रकम जम्मा गरिदिने भन्दै व्यक्तिगत रूपमा लिएको भनिएको पैसाबारे बैंक जवाफदेही हुन नसक्ने कर्मचारीको दाबी छ । बैंकमा जम्मा भई अपचलन भएको बाहेक व्यक्ति विशेष जम्मा गरिदिनु भनेको भए पनि त्यस्ता पीडितलाई बैंकले पैसा फिर्ता गर्ने आधार नहुने उनले दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा फरार शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको उजुरी बैंकको तर्फबाट यसअघि नै परेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताएका थिए। शाहले धेरै बचतकर्तालाई विश्वासमा पारेर र नियबस झुक्याएर रकम बैंकमा जम्मा नगरी आफूसँगै राखेर फरार भएको अनुमान गरिएको छ ।

उनको विषयमा शंकास्पद विवरण भेटिएपछि बैंकको कर्णाली प्रदेशबाट दुई जना कर्मचारीको टोलीले अनुसन्धान गरिरहेको छ ।
समाचार श्रोतः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्