१८ फागुन । बेसीशहर । लमजुङ सदरमुकाम वेसीशहरमा आयोजित एक कार्यक्रमका व्यक्तिहरुले बन डढेलोका घटना हुन नदिन तथा डढेलो नियन्त्रणका आम नागरिक सचेत हुनुपर्ने बताएका छन् ।
डिभिजन बन कार्यालय लमजुङले आयोजना गरेको वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धि गोष्ठीमा सहभागिहरुले डढेलो नियन्त्रणका लागि आम नागरिक सचेत हुनपर्नेमा जोड दिएका हुन् ।
बन डढेलेका घटना हुन नदिन तथा घटना भैहालेमा अपनाउनुपर्ने सावधानिको पूर्वतयारीका लागि कार्यालयले बुधवार बन डढेलो रोकथाम तथा नियन्त्रण गोष्ठी आयोजना गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा भएको गोष्ठीमा डिभिजन वन प्रमुख दिपक प्रसाद पण्डितले डढेलोको विगतको अवस्था, रोकथाम र नियन्त्रण तथा डढेलो व्यवस्थापनका प्रयासबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
डढेलोको विगतको अवस्थालाई हेर्दा जलबायु परिवर्तनसँगै नेपालमा मुख्यतः मानवीय कारणले डढेलो घटना बढी हुने गरेको डिभिजन वन प्रमुख पण्डितले वताउनुभयो । करिव ९६ प्रतिशत भन्दा बढी वन डढेलो मानविय कारणले लाग्ने गरेको भन्दै उहाँले यस्ता घटना हुन नदिन प्रत्येक नागरिक जिम्मेवार वन्न जरुरी रहेको वताउनुभयो । यदी कसैले वनक्षेत्रमा आगजनी गरेमा वन ऐन बमोजिम दण्ड सजाय समेत हुने व्यवस्था रहेको वताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले दिगो वातावरण संरक्षणको महत्वपूर्ण आधार वन क्षेत्र भएकोले वनको संरक्षण सवैको दायित्व भएको वताउनुभयो । वन संरक्षण कुनै कार्यालय तथा निकायको मात्र जिम्मेवारी नभई साझा चासोको विषय भएको भन्दै प्रजिअ अधिकारीले हाम्रो वन हाम्रो गौरव भन्ने भावनालाई आत्मसाथ गर्नुपर्ने वताउनुभयो । सहि र प्रभावकारी वन व्यवस्थापन कसरी गर्ने भन्नेवारे आम नागरिकमा सचेतना फैलाउनुका साथै वन र नागरिकविच मैत्रीपूर्ण सम्वन्ध स्थापित गर्ने योजना वनाउनुपर्ने प्रजिअ अधिकारीको भनाई थियो ।
कार्यक्रममा सुरक्षा निकाय, सरकारी कार्यालय तथा गैरसरकारी संघसस्था, सञ्चारकर्मी लगायतको उपस्थिती थियो । सहभागिहरुले बन डढेलो नियन्त्रणका लागि स्थानीय तह, उपभोक्ता समूह तथा स्थानियमा सभावित जोखिमबारे सचेतिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सहजिकरण वन अधिकृत तथा कार्यालयका सुचना अधिकारी सन्तोष खनालले गर्नुभएको थियो । सो अवसरमा डिभिजन वन कार्यालयमा जडान गरिएको डिजिटल बोर्डको उद्घाटन समेत गरिएको थियो ।
साभारः मर्स्याङदी समाचार








