नागढुंगा सुरुङमार्गबारे आन्दोलनरत स्थानीय र सरकारबीच सहमति, मंगलबारदेखि काम सुरु हुने

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ /स्थानीयले विभिन्न माग राख्दै एक महिनादेखि ठप्प पारेको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको काम मंगलबारबाट सुचारु हुने भएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ सहित स्थानीयहरुको उपस्थितिमा मन्त्रालयमा भएको वार्तापश्चात् सुरुङको काम सुचारु गर्न सहमति भएको हो ।

मन्त्रालय र काम रोक्ने स्थानीयसँग ९ बुँदे सहमति भएको सडक विभागअन्तर्गत् विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख विजय जैसीले बताए  ।

चन्द्रागिरी नगरपापालिका-२ का स्थानीयले उठाउँदै आएको मुख्य माग खानेपानीको व्यवस्था गरिदिने, आयोजना निर्माण पश्चात् सुरुङमार्ग सञ्चालनमा स्थानीय पीडितलाई योग्यता र क्षमताका आधारमा रोजगारमा प्राथमिकता दिने लगायत रहेका छन् ।

गत फागुन ६ गतेदेखि स्थानीयले सुरुङमार्गको धादिङ र काठमाडौं दुवैतिर काम ठप्प पारेका थिए । सुरुङ खन्न १४ मिटर मात्र बाँकी छँदा स्थानीयले आयोजना सुरु हुँदैदेखिका माग निकालेर काम ठप्प पारेका थिए । गत फागनु २३ मा सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । यही बेलामा काम ठप्प भएपछि ‘ब्रेक थ्रु’को समय अनिश्चित बनेको हो ।

अब काम सुचारु भएको एक हप्ता भित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्न सकिने आयोजनाले जनाएको छ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

मुख्य सुरुङ २.६८८ किमिमध्ये २.६७४ किमि पूरा भइसकेको छ । सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिनेछ । नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ । यसको निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ ।
साभारः कान्तिपुर दैनिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्