युरोपको अष्ट्रियामा नेपालीले मनाए नयाँ वर्ष

सर्वज्योति
  • ख-
  • ख+

युरोपियन मुलुक अष्ट्रियाको साल्सवर्गमा बसोबास गर्ने नेपाली समुदायले नयाँ वर्ष २०८१ को अवसरमा विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । सो अवसरमा शुभकामना आदनप्रदान गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । स्थानीय नेपाली कलाकारहरुले विभिन्न सा‌स्कृतिक प्रस्तुति पेश गरेका थिए ।

विगत ३४ वर्षदेखि अष्ट्रियामा बस्दै आउनुभएका नेपाली समाजसेवी रामबहादुर विश्वकर्माको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमूख अतिथि अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी हुनुहुन्थ्यो । त्यसैगरी विशेष अतिथिहरुमा साल्सवर्ग नगरका मेयर वर्नहार्ड अयग्नर, सभासद हरमन विल्याण्डर, नगरका उप उपमेयर, हाल उक्रेनका लागि कन्सुलर डा मार्टिन पानोस्च तथा गैरआवासीय नेपाली संघका उपसभापति रामशरण सिम्खडा रहनुभएको थियो । कार्यक्रममा सो क्षेत्रमा रहेका नेपाली र नेपाललाई माया गर्नेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

आयोजकका अनुसार कार्यक्रमका अध्यक्ष समाजसेवी विश्वकर्माको अग्रसरतमा विगतका वर्षहरुमा पनि नववर्ष तथा अन्य अवसरमा विभिन्न कार्यहरु हुँदैआइरहेको छ । गैरआवासीय नेपालीहरुका वीच पनि उत्तिकै लोकप्रिय उहाँ विगत साढे तीन दशक अगाडि अष्ट्रिया प्रवेश गरी परिवारका ५० औं सदस्यसहित त्यहाँ रेष्टरेन्ट व्यवसाय गर्दैै आउनु भएको छ । अष्ट्रिया जानुअघि उहाँ पर्वतमा प्रधानाध्यापकका रुपमा शिक्षण गरिरहनु भएको थियो । पंचायती शासनकालमा उहाँलाई जातीय कारणबाट प्रधानाध्यापकबाट हटाइएको थियो ।

पर्वतको चित्रे गाविस हाल मोदी ८ मा जन्मनुभएका विश्वकर्माको त्यस क्षेत्रको सामाजिक सेवामा योगदान रहँदै आएको जानकारहरु बताउनु हुन्छ । डिमुवाको प्रहरी चौकी निर्माणदेखि श्री जनसिद्द मावि, श्री पशुपति मावि, श्री लक्ष्मी प्रावि लगायतको निर्माण तथा खानेपानीको व्यवस्थापनमा गरेको लगानी उल्लेखनीय मानिन्छ । त्यसबाहेक उहाँले प्रवासमा रहेर नेपालीहरुलाई सहयोग गर्ने तथा कलासंस्कृतिको संरक्षणमा पनि योगदान गरिरहनु भएकाेछ । साल्सवर्ग क्षेत्रमा सयौं आफन्तजनसहित बसिरहनु भएका उहाँ फिजीमा नेपाली गाँउ भएजस्तै अष्ट्रियामा पनि गाँउ भएको देख्ने रहर भएको बताउनु हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्