नेविसंघले बुझायो म्याग्दे गाउपालिकामा ज्ञापन पत्र

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेपाल विद्यार्थी संघकाे ५५ औं स्थापना दिवसको अवसरमा आधारभूत र माध्यमिक तहसम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि लगायतका मागहरुसहित तनहुँकाे म्याग्दे गाउपालिकामा ज्ञापन पत्र बुझाइएकाे छ । संघले देशभरका ७५३ वटै पालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेकाे थियाे । तनहुँका अन्य पालिकामा पनि ज्ञापन पत्र बुझाउने संघका केन्द्रीय सदस्य प्रविन कैनीले जानकारी दिएका छन् ।

ज्ञापन पत्रमा नेपालको आधारभूत र माध्यमिक तहसम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एवं उन्नयन गर्ने मूल उद्देश्य संघकाे रहेकाे उल्लेख छ ।  संघले शिक्षामा देखिएका साझा समस्या समाधान गर्न विभिन्न मागहरु बुदाँगतरुपमा प्रस्तुत गरेकाे छ।  नेपालको संविधानमा अनिवार्य तथा निशुल्क शिक्षा व्यवस्था भएपनि अधिकांश विद्यालयहरूले भर्ना शुल्क, परीक्षा शुल्क, मासिक शुल्क, वार्षिक शुल्क, पाठ्यपुस्तक शुल्क, प्रमाणपत्र शुल्क लगायत उठाउँदै आइरहेको भन्दै साे स‌गठनले  विद्यालय शिक्षा पूर्णतः निशुल्क गर्न माग गरेकाे छ ।

त्यसैगरी सार्वजनिक शिक्षामा राज्यको लगानी अभिवृद्धि गर्न, शिक्षाको गुणस्तर वृद्धि गर्न तथा संविधानले व्यवस्था गरेको शिक्षासम्बन्धी हकको कार्यान्वयनगर्न स्थानीय सरकारले समेत आफ्नो कुल वार्षिक बजेटको न्यूनतम २०% (बीस प्रतिशत) अनिवार्य सार्वजनिक शिक्षामा विनियोजनगर्न माग गरिएकाे छ ।

ज्ञापनपत्रमा सार्वजनिक र निजी विद्यालयमा पठनपाठन हुने पाठ्यक्रममा एकरूपता कायम गरी माटो सुहाउँदो विश्वमान चित्रमा समेत प्रतिस्पर्धी बन्न सक्ने स्थानीय भाषा, धर्म, संस्कृति, सभ्यता, भेषभूषा, कला, साहित्य, रीतिरिवाज, परम्परा र इतिहासको संरक्षण एवं उत्थान हुनेगरी स्थानीय पाठ्यक्रम निर्माण गर्न र पूर्व प्राथमिक शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन खेलमा आधारित पूर्व प्राथमिक कक्षापाठ्यक्रम बनाउन तथा विद्यार्थीहरूको लागि व्यवस्थित बसाइ व्यवस्थापन गर्न, पोषणयुक्त दिवा खाजा, पर्याप्त खेलकुद एवं मनोरञ्जनका सामाग्री उपलब्ध गराउन माग गरिएकाे छ ।

एउटै विद्यालयहरूमा एउटै विद्यार्थीले पटकपटक भर्ना गर्नु पर्ने अवस्थाको अन्त्य गर्दै निजी विद्यालयहरूले कानून बमोजिम तोकिएको छात्रवृत्ति सम्बन्धी मापदण्ड पुरा गरे नगरेको अनुगमन गर्न र छात्रवृत्ति वितरणमा एकरूपता कायम गर्दै छात्रवृत्तिको दायरालाई फराकिलो बनाउन तथा छात्रवृत्ति वितरणलाई थप पारदर्शी, प्रभावकारी एवं वैज्ञानिक बनाउन केन्द्रिकृत छात्रवृत्ति पोर्टल  स्थापना गर्न माग राखिएकाे छ ।

संघका अनुसार विद्यार्थीले विद्यालय जाँदा शैक्षिक सामग्रीहरू बोक्ने झोलाको वजन घटाउन, प्रविधिसँग अभ्यस्त आजका विद्यार्थीको रुझान समेतलाई ख्याल गरी प्रविधिमैत्री पाठ्यपुस्तक सिकाइमा अधिकतम प्रविधिको प्रयोग र प्रत्येक विद्यार्थीलाई पाठ्यपुस्तक र शैक्षिक सामग्री सुरक्षित राख्न विद्यालय हाता भित्रै उचित प्रबन्ध मिलाइनु पर्ने देखिन्छ । यस अलावा विद्यालयहरू आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरूलाई बाध्य नगराउने भन्ने व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गराउने लगायतका विभिन्न मागहरु ज्ञापनपत्र मार्फत पेश गरिएकाे संघका केन्द्रीय सदस्य कैनीले जानकारी दिएका छन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्