यो बर्खामा मेलम्ची पानी काठमाडौं नआउने

सर्वज्योति
  • ख-
  • ख+

२७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आइरहेको मेलम्ची खानेपानी वर्षा सुरु भएपछि नआउने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाले उपत्यकामा पानी सुरुङमार्फत पठाउन प्रयोग हुने मुख्य स्थान हेडवर्क्स नै स्थायीरूपमा निर्माण गर्न नसक्ने भएपछि बाह्रै महिना मेलम्ची पानी उपत्यका ल्याउने योजना अधुरो हुने देखिएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा मेलम्ची आयोजनाको अस्थायी मुहान स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाइने घोषणा गरेको थियो । तर, यो पटक पनि वर्षामा पानी नआउने पक्कापक्की भएको छ ।

१ असार २०७८ को बाढीले निर्माण सकिएको पानी छान्ने संयन्त्रसहित पक्की हेडवर्क्स पुरेपछि वर्षैपिच्छे वर्षायाममा सुरुङको मुख बन्द गर्ने र हिउँदमा खोलाको पानी सोझै सुरुङमा हालेर काठमाडौं ल्याउने गरिएको छ, तर यसपटक पनि त्यस्तै हुने भएको हो ।

३२ अर्ब खर्च भइसकेको आयोजनाको २७ किलोमिटर लामो सुरुङमा बाढीले पुर्‍याउन सक्ने जोखिमलाई हेरेर वर्षायाममा मेलम्ची पानी ल्याउने नमिल्ने अयोजनाले नै जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना प्रवक्ता राजेन्द्र पन्तका अनुसार बाढीले क्षति पुर्‍याएपछि अहिले अस्थायी हेडवर्क्स मार्फत पानी सुरुङबाट पठाइरहेको छ ।

‘अहिले विकल्पका रूपमा रहेको हेडवर्क्सबाट काम चलाउ मात्रै पानी पठाइरहेको छौं । बाह्रै महिना पानी पठाउन सुरक्षित स्थानमा हेडवर्क्स सार्नुपर्छ । त्यसका लागि सरकारले निर्णय गर्नुपर्छ । त्यसपछि फेरि नयाँ स्थानान्तरण हुने स्थान अध्ययन हुन्छ र लागत अनुमान, निर्माण हुने मिति थाहा हुन्छ,’ पन्तले अनलाइनखबरसँग भने, ‘अनि मात्रै निर्माणका लागि ठेक्का दिएर काम सुरु हुन्छ । यो वर्ष अहिलेसम्म स्थानान्तरण हुने निर्णय नभएकाले पानी वर्षामा आउने सम्भावना छैन ।’

पन्तका अनुसार अहिले दैनिक १७ करोड लिटर पानी उपत्यकामा आइरहेको छ । १ असार २०७८ मा बाढी आउनु अगाडि आयोजनाको हेडवर्क्स तयार हुनासाथ बाढीले क्षति पुर्‍याएपछि अस्थायी संरचना निर्माण गरेर पानी सुरुङमार्गमा पठाउने गरिएको थियो ।

फेरि साउन २०८० मा आएको बाढीका कारण पहिलेको अस्थायी संरचनामा क्षति पुग्यो । ‘वर्षामा अस्थायी हेडवर्क्समा पनि क्षति पुग्ने भएपछि स्थायी नबनाएसम्म ठूलो वर्षाको अनुमान हुने बित्तिकै सुरुङ बन्द गर्नुपर्छ,’ उनी भन्छन् ।

हेडवर्क्स सार्न मन्त्रालयले अहिलेसम्म कुनै पनि निर्णय भने गर्न सकेको छैन । खानेपानी मन्त्रालयका प्रवक्ता मिरा श्रेष्ठका अनुसार मन्त्रालयले यसबारे छलफल गरिरहे पनि निर्णय नगरिसकेको बताइन् ।

‘मेलम्ची खानेपानीको अध्यक्ष सचिवज्यू नै हुने भएकाले उहाँलाई थाहा होला, तर हेडवर्क्स सार्ने निर्णय भने अहिलेसम्म भएको छैन,’ उनले भनिन् ।

खानेपानी निरन्तरताका लागि साढे ४ अर्ब खर्च लाग्ने

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन ४ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने बताउँछन् ।

अन्सारीले गत चैतमा खानेपानी मन्त्रालयमा भएको आयोजना सुधार सम्बन्धी योजना पेस गर्दै उक्त परिमाणको लागत लाग्ने बताएका हुन् ।

उनले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महिना उपत्यकाका धारामा पानी ल्याउने गरी तयारी भइरहेको जानकारी दिए ।

पटक(पटक उद्घाटन गरेर सरकारमा भएका नेताले भाषण गरे पनि उपत्यकाका जनतालाई बाह्रै महिना पानी खुवाउन सरकार असफल देखिन्छ
‘मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी स्थायी संरचना बनाउन साढे ४ अर्ब लाग्ने छ, विस्तृत डिजाइन तयार हुँदासम्म लागत घढबढ हुन सक्छ,’ कार्यकारी निर्देशक अन्सारीले भने, ‘अहिले आयोजनामा थुप्रिएको गेग्रान ७० प्रतिशत हटाउनुपर्ने अवस्था छ । आयोजना स्थल नजिक अझै पनि ठूलो बाढीपहिरोको जोखिम रहेकाले कुनबेला आयोजनालाई क्षति पुग्ने हो भन्ने शंका छ ।’

आयोजनालाई दीर्घकालीन सुधार गर्न एक किलोमिटर माथि आयोजनाको हेडवर्क्स सार्नु उपयुक्त देखिएको कार्यकारी निर्देशक अन्सारीको भनाइ छ ।

गत २८ र २९ साउनमा आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति पुर्‍याउँदा मेलम्ची आयोजनाको पानी बन्द गरिएको थियो । वर्षायाम सुरुवातसँगै बाढीबाट आयोजनाको हेडवर्क्स जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द गर्नुपरेको अन्सारीले बताए ।

आयोजना नियमित सञ्चालन गर्न हेर्डवक्र्स नै अन्यत्र सार्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

नौपटक उद्घाटन हुँदा पनि वर्षामा आउँदैन पानी

मेलम्ची पानी आएको भन्दै सरकारले उद्घाटन मात्रै नौपटक गरिसकेको छ । राष्ट्रिपतिदेखि प्रधानमन्त्रीसम्मले मेलम्ची आयोजनाको नौपटक उद्घाटन गरिसकेका हुन् ।

पटक(पटक उद्घाटन गरेर सरकारमा भएका नेताले भाषण गरे पनि उपत्यकाका जनतालाई बाह्रै महिना पानी खुवाउन सरकार असफल देखिन्छ ।

२१ असार २०७७ मा पहिलो पटक मेलम्ची पानी काठमाडौं ल्याउन सुरुङमा खसालिएको थियो । त्यतिबेला सिन्धुपाल्चोक मेलम्चीस्थित मुहानमा प्रमुख जिल्ला अधिकारी सहितको सहभागितामा औपचारिक कार्यक्रम गरिएको थियो ।

पछिल्लोपटक १ माघ २०८० मा प्रधानमन्त्री प्रचण्डले सिंहदरबार परिसरभित्र धारो खोलेर मेलम्चीको पानी वितरण उदघाटन गरेका थिए ।
त्यस्तै तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् । तर, एक सातामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब आठ महिना लाग्यो ।

त्यसपछि १० फागुन २०७७ मा तत्कालनि खानेपानीमन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्ची मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरण शुभारम्भ गरेका थिए ।

२२ फागुन २०७७ मा सुन्दरीजल आइपुगेको पानी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेर बागमती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।

त्यतिबेला सुरुङ खाली गरेर सुपरीवेक्षण र सुधारको काम नगरी सरकारले हतारमा पानी वितरण थालेको थियो । १५ चैत २०७७ मा महाँकालमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीले औपचारिक कार्यक्रममा पानीपोखरीको साँचो खोलेर मेलम्ची पानी वितरण सुरु गरेका थिए ।

त्यसको एक सातापछि २३ चैत २०७७ मा काठमाडौं भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्य उद्घाटन गरेकी थिइन् ।

तर, राष्ट्रपतिबाट उद्घाटन भएको साढे दुई महिनापछि १ असार २०७८ मा आएको बाढीले आयोजनाको मुहान क्षेत्र तहसनहस पारेको थियो । अस्थायी बाँध बनाइसकेपछि १९ चैत २०७८ मा खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची मुहान पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्य शुभारम्भ गरेका थिए ।

चौधरीले ११ वैशाख २०७९ मा केयूकेएलको मिनभवनस्थित पानी ट्यांकीमा पुगेर खानेपानीको भल्भ खोलेर औपचारिक रूपमा काठमाडौंमा पुनः वितरण थालेका थिए ।

२३ मंसिर २०७९ पनि चौधरीले मिनभवनस्थित त्यही पानी ट्यांकीमा पानीको साँचो घुमाएर पुनः वितरण शुभारम्भ गरेका थिए । १ माघ २०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरमा इँटाको बुट्टा प्रिन्ट गरिएको फ्लेक्सलाई भित्तो बनाएर त्यसमाथि जोडिएको धारा खोलेका थिए ।

 

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?