अहिले म ९ महिनाको अवधिमा ३ किलोमिटर सुरुङ खनिएको आफ्नै नेतृत्वमा निर्माणाधीन नेपालकै पहिलो त्यस्तो जलविद्युत आयोजनाको अँध्यारो सुरुङभित्र छु, जसको सब- स्टेसन सहित सबै संरचना कडा चट्टान भएको पहाड भित्र छन्।
जसरी मैले २५ वर्ष अघि आफै कलेज खोल्छु भनेर सोचेको १५ दिनभित्र, इन्जिनियरिङ कलेज खोल्न सफल भए, देशमा हजारौ किलोमिटर सुरुङ नखनी विकसित नेपाल हाम्रो अर्को पुस्तालाई हस्तान्तरण गर्न सकिदैन भन्ने सोंच पलाएको महिना दिनभित्र मेलम्चीको सुरुङ खन्ने उपठेक्का नेगोसिएशनमा लिएँ, नागढुङ्गा सुरुङमार्ग पनि जापानिजसंग सुरुङको सिभिल वर्क्र्सको उपठेक्का Back-to- Back मा लिएर तोकिएको समय १ वर्ष अघि नै सकें।
आजसम्म झण्डै १५ किलोमिटर सुरुङ आफ्नै नेतृत्वमा खन्ने क्रममा रवि लामिछानेसंगको पटक पटकको भेट बाट मैले निकालेको निष्कर्ष के हो भने
सुरुङ खन्न जस्तै अत्यन्तै ठुलो जोखिम मोलेर देशको राजनीतिक बागडोर सम्हाल्ने नेतृत्वदायी क्षमता, आँट, हिम्मत र साहस भएका एक मात्र पात्र नेपालमा कोहि छ भने त्यो रवि लामिछाने मात्र भएको मैले पाँए।
रवि लामिछानेसँग एकपटक होइन, पटक–पटक, वान–टु–वान भेट्ने अवसर पाएँको छु। म नागढुङ्गा सुरुङमार्गको आयोजना निर्देशक रहँदा चितवनबाट अत्यधिक मतले विजयी भएको उपलक्ष्यमा बधाई दिने क्रममा पहिलो पटक,
रवि गृहमन्त्री भएपछि, म र डा. स्वर्णिम वाग्ले रास्वपा प्रवेश गर्ने क्रममा ६ पटक, उपनिर्वाचन पछि देशको विकास कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा छलफल गर्न दर्जनौं पटक, पुनः गृहमन्त्री हुँदा ६ पटक, र पोखरा,भैरहवा, नख्खु जेलमा ६ पटक— गरी सय पटक त पुग्यो होला रविसंग वान–टु–वान भेट, संवाद, छलफल, बहस र परामर्श भएको।
एउटा इन्जिनियरको नजरबाट मैले चिनेको र जानेको रवि लामिछानेबारे,
देश विदेशमा रहनु भएका नेपाली आमाबुवा, दाजुभाई दिदीबहिनीहरूमा, भन्ने यो नै सान्दर्भिक समय हो भन्ने ठानेको छु।
र यो भिडियो सन्देश मेरो नेतृत्वमा निर्माण भइरहेको अँध्यारो सुरुङ भित्रबाट दिइरहेको छु, जुन काम आफैमा संसारको सबैभन्दा बढी जोखिम भएको विकास निर्माणको काम हो।
वान टु वान भेटका क्रममा मैले रवि लामिछानेलाई पटक पटक भनेको थिएँ — पहिलो पटक तपाईंलाई चितवनमा अन्यायपूर्वक यातना दिएर जेल हालियो। परिणामस्वरूप तपाईं चितवनबाटै अत्याधिक मत ल्याएर सांसद मात्र बन्नु भएन, २० सिटसहितको नयाँ राजनीतिक पार्टी जन्माएर देशको चौथो ठूलो दलको नेताको रूपमा स्थापित हुनुभयो।
दोस्रो पटक तपाईंलाई सांसद पदबाटै निलम्बन गरिदिए। त्यसपछिको उपनिर्वाचनमा त झन् त्यहि क्षेत्रबाट अझ बढी जनसमर्थन पाउनुभयो — तपाईं मात्र नभएर, मेरो पहल र सक्रियतामा रास्वपा जोडिनु भएका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई मेरै जन्मथलो तनहुँ १ लगेर म आफै निर्वाचन परिचालन समितिको संयोजक भइ तनहुँका सचेत मतदाताको अत्याधिक मतबाट विजयी हुने अवसर प्राप्त भयो। र त्यो सांसद संख्या २१ पुग्यो।
पहिलो र दोस्रो पटक जस्तै तेस्रो पटक पनि तपाईंलाई देउवा, ओली र प्रचण्डहरूले जेल नहालेसम्म जनताको नजरमा तपाईं यो देशको शक्तिशाली प्रधानमन्त्रीका लागि योग्य पनि हुनुहुन्न, र प्रधानमन्त्री बन्न पनि सक्नु हुन्न भनेको थिएँ।
मलाई लाग्छ, त्यो क्षण — त्यो निर्णायक दिन — अब धेरै टाढा छैन। देश, जनता र द्रुत गतिको विकासले आज त्यही दिनको प्रतीक्षा गरिरहेका छन्।
कारण र रहस्य थाहा पाउन नेपालको लोकतन्त्र भित्रको रोचक कथा सुन्न जरुरी छ ।
नेपालमा लोकतन्त्र त छ—तर कहिलेकाहीँ लाग्छ, यो लोकतन्त्र होइन, मतपत्रको आडमा मच्चाइएको मनपरी तन्त्र हो, अनुसाशनहीन छाडातन्त्र हो।
३५ वर्ष शासन गर्नेहरू कहिल्यै जनताको वास्तविक प्रतिनिधि नै बन्न सकेनन्, जनताको पसिनाबाट बनेका महलका मालिकहरू मात्र बन्न सके।
नेपाली लोकतन्त्रको सुन्दरतामा एउटा कडा दाग लागेको छ—जस्ताको बहुमत, त्यस्तै नेताको छनौट। त्यस्तैको वर्चस्व, त्यस्तैको हुकुम, त्यस्तैको कानुन, त्यस्तैको साशन। जसरी बाँदरको हातमा नरिवल पर्यो भने जंगलमा हुर्मत मच्चिन्छ,
त्यसरी नै सत्ता र शक्तिको आडमा संविधान र कानुनलाई आफ्नै भान्छाको मेनु जस्तै पस्केर खान थाले । हामी गर्व गर्छौं—“हामी लोकतान्त्रिक राष्ट्र हौं” भनेर।
तर यही लोकतन्त्र भित्र दुई तिहाइभन्दा बढी नेता, कर्मचारी, प्रहरी, न्यायाधीश लगायत अन्य राज्यको ढुकुटीमा पहुँच पुर्याउने ९०५ भन्दा बढी भ्रष्टाचारमा लिप्त छन्।
भ्रष्टाचार पाप होइन—पेशा बनेको छ, प्रवृत्ति र संस्कार बनेको छ। सिस्टम यहाँ दोषी होइन—सिस्टमका मालिक दोषी बनेका छन्।
जब कोही साँचो बोल्ने साहस गर्छ, उसको भाग्य तय भइसकेको हुन्छ—
रवि लामिछाने जेलमा हुनु, यही “दुई तिहाइको कमाल” को अर्को अध्याय ‘
त्यहि दिनदेखि नेपालको न्यायालय प्रतिको अविश्वास पनि टुट्नेछ। र जनताले रविलाई ‘न्यायको प्रतीक’ का रूपमा देख्न थाल्नेछन्।
करीव ४० लाख हस्ताक्षरको जनसमर्थन पाइसकेका रवि लामिछाने नेतृत्वको शासन, एकपटक नेपाली जनताले खोजिरहेका छन्। बहुमत जनताको मन मस्तिष्कले रविलाई परिवर्तनका प्रतीक ठानिसकेका छन्।
“देउवा, ओलि र प्रचण्ड जस्ता तीनवटा शक्तिको घेराबन्दी र नियन्त्रणमा रहेर पनि भ्रष्टाचारको फाइल खोल्छुू भनेर तम्सिएका र खुल्ला चुनौति दिएका नेपालको इतिहासमै दुर्लभ, हिम्मतिला, साहसी र आँटिलो पात्र हुन् तत्कालीन गृहमन्त्री रवि लामिछाने।” यसलाई मैले नेपालको राजनीतिमा पुर्णरुपमा युटर्न ल्याउने एउटा वृहत र नयाँ शैलिको आन्दोलनको संज्ञा दिएको छु। यो आन्दोलन वास्तवमै अब सार्थकताको धेरै नजिक पुगेको छ।
नेपालले परिवर्तन खोज्दैछ, र त्यो परिवर्तनको केन्द्रमा रवि लामिछाने जस्ता ‘परिवर्तनको चाहना र ‘एक व्यक्तिमा देशको भविष्य’ को भरोसा बनेका छन्।
रविलाई जेलमा राखेर पटक पटक सरकार फेरे पनि, देशले न त निकास पाउने देखिन्छ, न त ढुक्कसँग देश विकासको बाटोमा अघि बढ्ने देखिन्छ। उल्टै भ्रष्टहरुको घेराबन्दीमा परेर ३५ वर्षदेखि कब्जामा राखिएको संवैधानिक निकाय लगायतको बलमा हरेक नयाँ सरकारलाई असफल बनाउने देखिन्छ।
रविलाई जेलमा राखेर कि त देशलाई निकास दिन सक्नुपर्दछ, होइन भने रविलाई आगामी निर्वाचनमा भाग लिने अवसरबाट कुनै हालतमा वञ्चित गरिनु हुँदैन। पुर्णरुपमा दोषी ठहर नहुँदासम्म रविलाई नै रास्वपाको नेता मानेर अघि बढ्न कसैले पनि शंका, संकोच र आपत्ति मान्नुपर्ने म देख्दिनँ, विरोध गर्नुपर्ने कारण पनि देख्दिन।
अहिले जनताको ध्यान सरकार स्वयंले तोकेको समयमा निर्वाचन सम्पन्न गर्न सक्छ कि सक्दैन भन्नेमा केन्द्रित छ।
अझ बढी सबैको चासो जेल भित्र रहेका रवि लामिछाने माथि नै केन्द्रित छ — उनी कहिले जेलबाट छुट्छन्, सफाइ कहिले पाउँछन् कि दोषी पो ठहरिने हुन्कि, र आगामी चुनावमा भाग लिन पाउछन् कि पाउँदैनन् भन्ने विषयमा जनताको ध्यान केन्द्रित छ।
आगामी निर्वाचनमा रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गर्ने निश्चित छ अनि संविधान संशोधन पनि सम्भव हुनेछ, स्थिर सरकार बन्नेछ, सुशासन र द्रुत गतिको विकासको प्रत्याभूति हुनेछ र अन्तर्राष्ट्रिय जगतका लागि विश्वासिलो वातावरण निर्माण हुनेछ।
जलस्रोतको खानी नेपाल
ऊर्जाको उत्पादन र सन्तुलित खपतबाट मात्र विकसित र समृद्ध बन्न सक्छ।
आगामी १५ वर्षभित्र ५० हजार मेगावाट बिजुली उत्पादन गरी स्वदेशमै खपत गर्ने लक्ष्यसाथ, आजको १४०० डलर प्रति व्यक्ति आम्दानीलाई ५००० डलरसम्म पुर्याउने, र प्रतिव्यक्ति ४०० युनिट बिजुली खपतलाई ५००० युनिटमा विस्तार गर्ने मेरो स्पष्ट Vision र प्रतिबद्धता रहेको छ।
तसर्थ यो लक्ष्यलाई मूर्त रूप दिन रवि लामिछानेको नेतृत्व देशका लागि अपरिहार्य छ । मैले ऊर्जाको उत्पादन र खपतबाटै, राष्ट्रको आर्थिक रूपान्तरणको स्पष्ट खाका कोरेको छु, नक्सा कोरेको छु। नतिजा निकाल्न सक्ने जोश, जाँगर, अनुभव र आवस्यक प्राविधिक क्षमता र सञ्जाल मसंग छ। र मैले यो अभियानमा रवि लामिछानेलाई आशाको वाचापत्र ठानेको छु।
लि क्वान यूले ३० वर्षमा सिङ्गापुर बनाए, मोहम्मद महाथिरले २२ वर्षमा मलेसिया बनाए। अब हाम्रो पालो आएको छ— रवि लामिछानेको नेतृत्वमा ऊर्जाको उत्पादन र खपतका माध्यमबाट १५ वर्ष भित्र स्वदेशमै युवालाई रोजगारी सृजना गरेर नयाँ नेपाल बनाइसक्ने। त्यो निश्चित छ, तर यो महान् लक्ष्य हासिल गर्न अहिले नयाँ शक्तिहरू बीच एकता अपरिहार्य छ।
म, इन्जिनियर श्रीराम न्यौपाने, आगामी निर्वाचनमा दुई तिहाइको जनमत प्राप्त गरी १५ वर्षभित्र छोटो बाटोबाट नेपाललाई विकसित राष्ट्र र जनतालाई समृद्ध नागरिक बनाउने साझा गन्तव्य हासिल गर्न इन्जिनियर त्रय — कुलमान घिसिङ, वालेन्द्र शाह र डा. सि. के. राउतलाई खुला आह्वान गर्न चाहन्छु।
आउनुहोस्, प्रतिशोध साँधेर नै जेल हालिएको हो भनि ४० लाख जनताले हस्ताक्षर गरि जनसमर्थन दिएका रवि लामिछानेको नेतृत्वलाई कमसेकम दोषि ठहर नहुँदासम्म खुला मनले स्वीकार गरौँ, हातेमालो गरौँ,
नेपाल र नेपालीको उज्यालो भविष्यका लागि एउटै बाटो समातौँ। जेनजि र भावी पुस्तालाई विकसित, सक्षम र गर्विलो नेपाल हस्तान्तरण गरौँ। मलाई पूर्ण विश्वास छ कि रवि लामिछानेको जनमत र जनविश्वास, अनि साहस, आँटले जितेको र प्रतिशोध विरुद्धको जनसमर्थनको मजबूत जगमा टेकेर — कुलमान, वालेन, सि.के. सहितका सबै नयाँ शक्ति एकजुट भई — यो लक्ष्य सहजै हासिल गर्न सफल हुनेछौ।
धन्यवाद ।








