रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले रास्वपालाई मूलधारको पहिलो शक्ति बनाउन जेनजी अगुवा, कुलमान घिसिङलगायत नयाँ शक्ति र समूहलाई एकै ठाउँमा ल्याउन निरन्तर संवाद र छलफल भइरहेको र वार्ता एकदमै सकारात्मक रहेको बताए ।
आज भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले यसको कुनै टुंगो नलागेकाले यसबारे सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको दावी गरेका छन् ।
उनले मुलुकलाई सही निकास दिन चुनावबाहेक अरू विकल्प नभएको बताउँदै सरकारले घोषित मितिमै चुनाव गराउनुपर्ने जनाएका छन् । ‘अब निर्वाचनको कुनै विकल्प छैन, रास्वपा चुनावमा केन्द्रित भइसक्यो, कार्तिक १५ गते निर्वाचन केन्द्रित कार्यक्रम घोषणा गर्दैछौं,पार्टी उपसभापति स्वर्णिम वाग्लेले नेतृत्वमा बाचा पत्र तयारको काम भइरहेको छ, अरू दलले पनि चुनाव सम्पन्न गर्न सहयोग गर्नु पर्छ, अरु कुनै विकल्प छैन’ उनले भने ।
अन्तरिम सरकारको मुख्य म्यान्डेट चुनाव गराउनु भएको बताउँदै उनले चुनाव गराउन नसके राज्य असफल हुने विषय सबैले बुझ्नुपर्ने बताए ।
निर्वाचन आयोगले आह्वान गरेअनुसार मतदाता परिचयपत्र बनाउन रास्वपाले ७७ वटै जिल्लामा पार्टीका सबै संरचनालाई कात्तिक २५ सम्म सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिइसकेको उनको भनाइ थियो ।
भदौ २३ को घटनाका दोषीमाथि कानुन अनुसार कारबाही हुनुपर्ने बताउँदे नेता अर्यालले भदौ २३ गते सरकारले जेनजी आन्दोलनमाथि दमन र हत्या गरेको र २४ गतेको घटना विध्वंस भएको तर्क गरेका छन् । उनले यो घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले नपुगे त्यसलाई थप विस्तार र बलियो बनाउनुपर्ने सुझाएका छन् ।
पार्टीको महाधिवेशनका विषयमा अर्यालले अहिले आफ्नो पार्टीको महाधिवेशन गर्ने समय आनसकेकाले त्यो विषयले प्रवेश नपाउने जनाएका छन् ।
नेपाल प्रेस








