४ जेठ । तनहुँ । आँदीमुलका माछाहरु एक्कासी मर्न थालेपछि आँदीमुल क्षेत्र संरक्षण समितिले आह्वान गरेको आकस्मिक वडा भेला समितिका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
सो भेलामा अध्यक्ष हिमाला थापाले अचानक आइपरेको यो बिपत्तिले आफु बिक्षिप्त भएको र यस घडीमा सबैजनाको सल्लाह र सहयोगको अपेक्षा राखेको बताउनु भयो ।
आफ्नो बिचार राख्दै स्थानिय नेता हस्त बहादुर किचिमले बर्तमान संरचनाले माछाको प्राकृतिक कुर पुरिएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई पुनर्बिचार गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो । सो कार्यक्रममा स्थानिय बासीहरु नानीराम अधिकारी, जङ्ग बहादुर गुरुङ , रामचन्द्र पण्डित ,शर्मिला राना, रमेश थापामगर, उदय किचिम, इन्द्र बहादुर मास्कि, देवी राना, सुनी परियार , रेवती थापामगर, किसान थापा , सन्तोष केसी लगायतले माछा मर्नुको कारण तथा आँदीमुल मन्दिरमा भैरहेको गतिविधि को विषयमा जिज्ञासा र सुझाव व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा पशु चिकित्सक सन्तोष देवकिटाले प्रयोगशालाबाट प्राप्त रिपोर्ट प्रस्तुत गर्दै लामो खडेरीपछिको वर्षामा अम्लियपन बढी हुने तथ्यको बारेमा प्रकाश पार्दै आँदीमुलको पानीमा अम्लियता बढी भएको र त्यसले माछाको गिल्समा क्षति पुर्याई पानीबाट आवस्यक मात्रामा अक्सिजन लिन नसकी माछा मरेको बताउनु भयो । साथै पानीमा इ(कोली नामक जिवाणु अत्याधिक मात्रामा रहेको र सो पनि माछा मर्नुको कारक रहेको बताउनुभयो ।
कार्यक्रममा आबुँ गाउँ पालिका वडा नं। १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङले बिपत्तिको समयमा एक अर्कोमा दोष थुपार्नु भन्दा पनि मिलेर सहकार्य गरी बिपत्तिको सामना गर्नुपर्ने बताउनु भयो ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले आँदिमुलको बिकासको विषयमा स्थानियको चासो कम भएको देखिएता पनि बिपत्तिको समयमा ठुलो जनचासो र सहभागिता देखिएको बताउनु भयो । उहाँले आगामी दुई वर्ष भित्र आँदीमुललाई नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने प्रतिज्ञा गर्नुभयो ।
सो भेलाले पुर्व वडाध्यक्ष किसान थापाको संयोजकत्वमा १४ सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ । सो सल्लाहकार समितिले जनताको राय सुझाव अनुसार आगामी कार्यक्रम अगाडी बढाउन आँदीमुल क्षेत्र संरक्षण समितिसँग समन्वय गरी परामर्श दिनेछ।








