आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा “भानु साहित्य उद्यान” निर्माणार्थ प्रारम्भिक रेखाचित्र सार्वजनिक

सर्वज्योति
  • ख-
  • ख+

९ जेठ तनहुँ । तनहुँको भानु नगरपालिका वडा नंं ४ चुँदि रम्घामा “भानु साहित्य उद्यान”निर्माण गर्न बुधबार एक कार्यक्रमका बीच रेखाचित्र (तस्विर) सार्वजनिक गरिएको छ ।
नगरपालिका नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले संयुक्त रुपमा रेखाचित्र सार्वजनिक गर्नुभएको हो ।
वरिष्ठ कलाकार अशोकमान सिंहद्वारा नेपालका राष्ट्रिय विभूति भानुभक्त आचार्यको स्मृतिमा उद्यानको परिकल्पना गरिएको भानु नगरपालिकाले जनाएको छ ।

भानु साहित्य उद्यानको भविष्यको वास्तविकता कस्तो हुने भन्ने विषयमा निर्माणका लागि परिकल्पनाको प्रारम्भिक तस्बिर ९रेखाचित्र० स्केच गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।
आयोजनाका लागि जग्गा प्राप्ति, गुरुयोजना निर्माण र भानुको सालिक निर्माणजस्ता कार्यहरु प्रारम्भ गर्न नेपाल सरकारले आर्थिक बर्ष २०८०/८१ मा पुनः पाँच करोड थप विनियोजन गरेको छ ।
नेपाल सरकारले भानु नगरपालिकालाई विसं २०७८ मा दुई करोड स्रोत सुनिश्चित गरी सोही बर्ष एक करोड बजेट बिनियोजन गरेपछि जग्गाधनीलाई मुआब्जा बितरण कार्य सुरु गरेको हो ।
भानु नगरपालिकाले चार सय २१ रोपनी बढी जग्गाप्राप्तिको जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आइरहेको छ । हालसम्म जग्गा अधिग्रहण कार्य करिब ९५ प्रतिशत सम्पन्न भैसकेको छ ।
भौतिक संरचना निर्माण गरी नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्वर्धन गर्ने योजना रहेको छ ।
भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रुपमा विकास गर्न लागिएको बरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए ।
प्रस्तावित संरचना भित्र भानुभक्तको विशाल सालिक,रामायण मन्दिर,मूर्ति वाटिका, भानुभक्तकालीन नमुना बस्ती, भानु साहित्य ग्राम र भानु प्रज्ञा भवन निर्माण गरिनेछ ।
त्यसैगरी,भानु वनस्पति उद्यान, सप्तधाम, प्रवेशद्वार, बस्ती तथा बजार क्षेत्र, मनोरञ्जन।वनभोज स्थल, पार्किड स्थल, प्राकृतिक वन–विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग निर्माण गरिनेछ ।
भानु साहित्य बाटिका निर्माण गरी नेपालका स्थापित कवि र साहित्यकारहरुका प्रतिमा स्थापना गरिने उपप्रमुख गोतामेले जानकारी दिइन् ।
भानुभक्तका कृति, योगदान एंव नेपाली भाषा र साहित्यको अध्ययन, अनुसन्धानका निम्ति पुस्तकालय÷सङ्ग्रहालय स्थापना गरी चुँदी रम्घालाई प्राज्ञिक उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न लागिएको नगरप्रमुख त्रिपाठीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्