पोखरा । कम्युनिष्ट नेता श्रीनाथ अधिकारी (श्याम) को पाँचौ वार्षिक स्मृति कार्यक्रम शनिबार पाेखरामा सम्पन्न भएकाे छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे प्रदेश कमिटीको आयोजनामा स्वर्गीय अधिकारीकाे स्मृतिमा कार्यक्रम आयाेजना गरिएकाे हाे । उनकाे निधन २०७६ असार २२ गते भएको थियो ।
विसंं २०१२ सालमा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका नेता अधिकारी वि.संं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । उनी निरन्तर कम्युनिस्ट आन्दोलनभित्रको क्रान्तिकारी धारामा उभिदै आउने नेताहरु मध्येमा पर्दछन । अधिकारी गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलन तथा माओवादी पार्टीका संस्थापक नेता हुन् त्यसैले उनलाई माओवादी धारभित्रका सबै पार्टीका नेता कार्यकर्ताले उनलाई एक अनुकरणीय व्यक्तित्वका रुपमा लिन्छन् ।
माओवादी आन्दोलनको प्रभाव रहेको गोरखाका नेता अधिकारीको सिंगो परिवार नै माओवादी आन्दोलनमा क्रियाशील थियो । मालेमावादी दर्शनको क्षेत्रमा उनको विशेष दख्खल रहेको थियो ।
स्मृति कार्यक्रममा नेता अधिकारीले अवलम्बन गर्दै आएको क्रान्तिकारी विचार र आदर्शलाई सबैले पछ्याउनु पर्ने कुरामा सबै वक्ताहरुले जोड दिंदै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य एवं प्रदेश संयोजक चिन्तामणि पौडेल, अतिथिहरु एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य आकाश गौतम, बाम बुद्धिजीवीहरु रामराज रेग्मी, शिवबहादुर बराल, प्राध्यापक परशुराम कोइराला र साे पार्टीका नेता समेत रहेका श्रीनाथ अधिकारी (श्याम)का छोरा नारायण अधिकारी लगायतका वक्ताहरुले बोलेका थिए ।
अन्य अथितिहरुमा पार्टी एकता महाधिवेशन आयोजक समिति सदस्य तथा कास्की जिल्ला सहसयाेजक बिक्रम थापा, जनसास्कृतिक महासङ्घ प्रदेश सयाेजक र सहसयाेजक सुसिला थापा र काजिबाबु श्रेष्ठ लगायतको उपस्थिति थियो ।
पार्टीका नेता नारायण अधिकारीले आफ्नो बुबा श्रीनाथ अधिकारी (कमरेड श्याम)को संक्षिप्त जिवनी बताएका थिए । मौन धारण र पुष्पाञ्जली सङ्गै शुरु भएको स्मृति कार्यक्रमको सञ्चालन एकता महाधिवेशन आयोजक समिति सदस्य बद्री अधिकारीले गरेका थिए। पार्टीकाे एकता महाधिवेशन आयोजक समिति सदस्य भिम बहादुर श्रीसको अध्यक्षतामा सम्पन्न उक्त स्मृति कार्यक्रम सम्पन्न भएकाे हाे ।