
सीमा जोडिएको भारतबाहेकको देशमा पहिलो पटक हुन लागेको विद्युत् व्यापार सम्झौता नेपालका लागि कोशेढुङ्गा हुने नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बीबीसी न्यूज नेपालीसँग बताए।
“यो सम्झौता यो क्षेत्रकै पहिलो हो। यो एउटा कोशेढुङ्गा हो। भोलिका दिनमा हजारौँ मेगावाट निर्यातका लागि यसले बाटो खुलाउँछ,” घिसिङले भने।
नेपालले ४० मेगावाट विद्युत् वर्षायामको छ महिनाका लागि बिक्रीका लागि आह्वान गरेको बोलपत्र बाङ्ग्लादेशले स्वीकृत गरेर त्यसको जानकारी पठाएको नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूले बताए।
“चाँडै नै यसमा हस्ताक्षर हुन्छ। हामीले अब सम्झौताको मिति पनि प्रस्ताव गर्छौँ,” घिसिङले भने। “एक महिनाभित्र सम्झौता भइसक्छ।”
उनले यो वर्षबाटै विद्युत् निर्यात सुरु गर्ने आफूहरूको योजना रहेको बताए।
बाङ्ग्लादेश पावर डिभेलप्मन्ट बोर्डले नेपालको बोलपत्र स्वीकृत भएको जानकारी गराउँदै विद्युत् व्यापार सम्झौताका लागि पत्राचार गरेको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।
अब बाँकी प्रक्रिया पूरा गरेर नेपाल, बाङ्ग्लादेश र भारतबीच २८ दिनभित्र सम्झौता गरिसक्नुपर्ने नियम रहेको प्राधिकरणका अधिकारीहरूले बताएका छन्।
सम्झौता नेपाल विद्युत् प्राधिकरण, बाङ्ग्लादेश पावर डिभेलप्मन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगमबीच हुनेछ। भारतको प्रसारणलाइन प्रयोग हुने भएकाले त्रिपक्षीय सम्झौता हुन लागेको घिसिङले जानकारी दिए।
सम्झौतापछि नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षसम्म बाङ्ग्लादेशलाई बिद्युत् निर्यात गर्नेछ।
भारतलाई बेच्दाभन्दा फाइदा हुने हो ?
नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालले बाङ्ग्लादेशलाई बेच्न लागेको विद्युत्को मूल्य प्रतियुनिट ६।४ अमेरिकी सेन्ट तय गरिएको छ। पछिल्लो सटही दरअनुसार यो नेपाली ८ रुपैयाँ ५५ पैसाबराबर हुन्छ।
यस आधारमा नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दा एक महिनामा ३२ करोडभन्दा बढी आम्दानी हुने र छ महिना निर्यात गर्दा प्रतिवर्ष करिब दुई अर्ब नेपाली रुपैयाँ आम्दानी हुने देखिएको प्राधिकरणका प्रवक्ता घोषले बताए।
नेपालले बाङ्ग्लादेशलाई बिक्री गर्न लागेको बिजुलीको मूल्य हाल भारतलाई बिक्री गरिरहेको भन्दा महँगो हुने देखिएको जानकारहरू बताउँछन्।
तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, “मूल्य उस्तै नै हो। यो डलरमा भएकाले हामीलाई राम्रो छ।”
भारतसँगको बिक्री दर समय र मागअनुसार तोकिने भएका कारण कुनै समय सस्तो र कुनै समय महँगोमा बिजुली बिक्री हुने गरेको प्राधिकरणका प्रवक्ता घोषले बताए। तर तत्कालको दरअनुसार भारतलाई बेच्दा हुने आम्दानीभन्दा केही बढी हुने देखिएको घोष बताउँछन्।
“हामीले भारतलाई बेच्ने भनेको ुएक्सचेन्ज मार्केटुमा हो। यसको मूल्य माग र आपूर्तिको सन्तुलनबाट हुने हो। भविष्यमा मार्केट क्लिअरिङ मूल्य के हुन्छ वा प्रत्येक २४ घण्टाकै के हुन्छ भन्न गाह्रो छ,” घोषले भने।
प्राधिकरणका अनुसार नेपालले भारतमा ७०० मेगावाटसम्म बिजुली निर्यात गर्ने गरेको छ।
कसरी पुग्छ बाङ्ग्लादेश बिजुली
नेपालको पूर्वी सीमाबाट बाङ्ग्लादेशबीचको दूरी ४० किमि मात्रै भए पनि उक्त क्षेत्रमा प्रसारण लाइन नभएका कारण नेपालको बिजुली ढल्केबरबाट भारतको मुजफ्फरपुर हुँदै बाङ्ग्लादेश जान्छ।
“यो बिजुली भारतको बहरमपुर हुँदै बाङ्ग्लादेश पुग्छ,” विद्युत् प्राधिकरणका प्रवक्ता घोषले भने।
नेपालको बिजुली यसरी भारतको बाटो हुँदै बाङ्ग्लादेश पुग्दा करिब ४०० किलोमिटरको दुरी पार गर्ने र कैयौँ मात्रामा बिजुली चुहावट वा ह्रास पनि हुन सक्ने अधिकारीहरू बताउँछन्।
भारतलाई प्रसारणलाइनको भाडा तिर्नुपर्छ कि पर्दैन ?
भारतको प्रसारणलाइन हुँदै बाङ्ग्लादेश बिजुली लैजाँदा भारतले आफ्नो प्रसारणलाइन प्रयोग गरेबापतको शुल्क लिने गरेको छ।
भारतले प्रसारणलाइन प्रयोग अर्थात् ‘ह्वीलिङ’ का लागि प्रतियुनिट एक सेन्ट हाराहारीमा शुल्क लिन्छ। तर यस्तो शुल्क नेपालले तिर्नुनपर्ने अधिकारीहरू बताउँछन्।
“मुजफ्फरपुरसम्म हाम्रै प्रसारणलाइन भएकाले त्यहाँसम्मको शुल्क हामीलाई लाग्ने भएन। त्यहाँ मिटर रिडिङ हुन्छ र त्यस भन्दा उताको सबै खर्च बाङ्ग्लादेशसले नै बेहोर्छ,” प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने।
कुनकुन आयोजनाको बिजुली बाङ्ग्लादेश जान्छ
नेपालले कुनकुन आयोजनाबाट उत्पादन भएको विद्युत् बाङ्ग्लादेशमा निर्यात गर्ने भन्ने टुङ्गो लगाउन बाँकी नै रहेको प्राधिकरणका अधिकारीहरूले बताए।
तर समय छोटो भएका कारण यसअघि भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाएका आयोजनाहरूबाटै उत्पादित बिजुली बाङ्ग्लादेश पठाइने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
भारतले नेपालमा चिनियाँ लगानीमा निर्माण भएका आयोजना र चिनियाँ ठेकेदारबाट निर्मित आयोजनाहरूबाट उत्पादित विद्युत् आयात गरेको छैन ।
बिबिसि