आँधीमुल नेपाली कल्याण समाजले आँबुखैरेनी गाउँ पालिका वडा नं. १ बाट शैक्षिक वर्ष २०८० मा SEE , कक्षा १२ तथा प्राविधिक विषयमा डिप्लोमा गरेका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ । आँबु खैरेनी गाउँ कार्यपालिका सदस्य तथा आँधीमुल नेपाली कल्याण समाजका सदस्य शुशिला नेपालीले उदघोषण गरी संचालन गरेको सो कार्यक्रममा आँबु खैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानलाई प्रमुख आतिथिको रुपमा स्वागत गरिएको थियो ।
यस कार्यक्रममा SEE उतीर्ण ५ जना, कक्षा १२ उतीर्ण ११ जना तथा कृषि डिप्लोमा (बाली बिज्ञान) बाट ३ जना गरी जम्मा १९ जनालाई रु. १०००/- नगद तथा सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो.
आँबु खैरेनी गाउँ पालिका वडा नं. १ का वडाध्यक्ष प्रेम गुरुङ विशिष्ट अतिथि रहेको कार्यक्रममा जुना कोइरलाले स्वागत मन्तव्य दिँदै सम्मानित हुने छात्रछात्राहरुलाई बधाई दिनुभएको थियो र आगामी वर्षमा अझै उच्च शिक्षाको लागी सम्मान गर्न पाइयोस भन्ने कामना व्यक्त गर्नुभएको थियो।
सो कार्यक्रममा शुभकामना मन्तव्य दिँदै आँधीमुल नेपाली कल्याण समाजका सचीव बाबुराम नेपालीले शिक्षा र सफलताको माध्यमबाट भेदभावलाई हटाउन सकिने हुनाले विद्यार्थीहरुलाई आफु सक्षम हुन सके भेदभाव विरुद्ध आवाज बुलन्द गर्न सकिने बताउनुभयो । कार्यक्रममा समाजसेवी तथा महीला नेतृ मिना अधिकारी, अकला मा बि का शिक्षक काजीराम परियार, सुर्योदय आ. बि. का शिक्षिका बिन्दा कोइरला , मित्रता मा बि का प्र. अ. सुरेन्द्र बोगटी, पालुङ्गटार न. पा. वडा नं ८ का वडाध्यक्ष होप बहादुर नेपाली ,आँबु खैरेनी दलित वर्ग गाउँ समन्वय समितिका राम बि.क. , भुतपूर्व वडाध्यक्ष बीर बहादुर बि.क., आँधीमूल नेपाल कल्याण समितिका पूर्व अध्यक्ष कृष्ण पुर्कोटी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुक्र चुमानले दलित सशक्तिकरणमा जनयुध्दको भूमिका र माओवादी पार्टीको योगदानको चर्चा गर्दै यस्ता उत्साहपुर्ण कार्यक्रममा आफ्नो सधैं साथ रहेको बताउँदै आज सम्मानित विधार्थीहरुलाई एकमुष्ट रु. १०,०००/- नगद सहयोग प्रदान गर्नुभएको थियो। शुरुमा सम्मान पत्र वितरण गर्नेगरी तयार गरिएको कार्यक्रममा दाताहरुबाट नगद सहयोग प्राप्त भएपछी उठेको रकम दामासाहीमा वितरण गरिएको थियो।
कार्यक्रमलाई समापन गर्दै आँधीमूल नेपाली कल्याण समाजका अध्यक्ष तथा सो समारोहका सभाध्यक्ष थमान सिं नेपालीले सम्मानित हुने विद्यार्थीहरुलाई बधाई दिंनु भएको थियो । उहाँले आजको कार्यक्रमले आफुमा उत्साह थपेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
बिं.सं. २०४२ साल जेठ २५ गते यान्चोक निबासी अमृत नेपालीकि आमा बिस्नी नेपालीको मृत्यु पस्चात त्यस समयका सार्की जातिहरुको जनसंख्याको कमी , छरिएको बस्ती फितलो निती नियम , गरीबी तथा सांगठनिक चेतनाको अभावको कारणले गर्दा लास चलाउन, लास जलाउन , कृयापुत्री कुर्न र कृयापुत्रीलाई खाना खुवाउन ज्यादै अप्ठ्यारो परिस्थिति सृजना भएकोले बिस्नी नेपालीका नाति मित्रता माध्यमिक विद्यालयका तत्कालिन शिक्षक हर्क बहादुर नेपालीको विषेश सकृयतामा २०४२ जेठ २५ गते लाइ स्थापना मिति मानेर तत्कालिन आँबु खैरेनी गाउँ पंचायत वडा नं १ र २ का १७ घरधुरी सार्कीहरुबाट प्रति घर रु. ५,- उठाई जम्मा रु. ८५ को हितकोष खडा गरी “नेपाली समाज गुठी” स्थापना गरियो । वडा नं १ यान्चोक बाट २ घर,सत्रसय फाँट , रातमाटे बाट ११ घर , पोखराटार बाट १ घर तथा जोगीटारबाट ३ घर त्यसै गरी वडा नं २ बरादी समस्तिपुरबाट २ घर सम्मिलित भएर निर्माण गरिएको यो समाजका १७ जना संस्थापक मध्ये ११ जनाको मृत्यु भैसकेको छ। प्रति घर रु. ५/- उठाई हित कोषको रकम प्रति सदस्य रु. १०००/- भएपछी २०५८ सालमा “नेपाली समाज गुठी”का रातमाटे क्षेत्रका सदस्यहरु बरादी र जोगीटारका सदस्यहरु सँग छुट्टिएर “नेपाली समाज गुठी रातमाटे ” स्थापना भयो। त्यही “नेपाली समाज गुठी रातमाटे”लाई २०७६ सालमा “आँधीमुल नेपाली कल्याण समाज”को नाममा बिधिवत दर्ता गराइएको हो ।








