काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो व्यक्त गरेका छन् । यसअघि राष्ट्रपति पौडेलकै पहलमा दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारीअनुसार भारत सरकारको सहयोगमा उक्त अस्पतालका लागि भवन निर्माणको प्रक्रिया अघि बढेको छ ।
तत्काल भारत सरकारले उक्त अस्पतालका लागि तीन सय शय्याको बनाउन डीपीआर तयार भएकोमा राष्ट्रपति पौडेलले उक्त अस्पताललाई एक हजार शय्याको बनाउने गरी व्यवस्था गर्न पहल गरेका छन् ।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार राष्ट्रपति पौडेललाई भेट गरेका थिए । त्यसअवसरमा राष्ट्रपति पौडेलले जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई एक हजार शय्याको बनाउने विषयमा ध्यानाकर्षण गराएका थिए ।
जवाफमा राजदूत श्रीवास्तवले भारत सरकारको तर्फबाट उक्त अस्पताललाई तत्काल तीन सय शय्याको भवन निर्माण अघि बढ्ने र बाँकी शय्या पछि स्तरोन्नति गर्न प्रतिबद्धता व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उक्त अस्पताललाई तीन सय शय्याको बनाउन सहरी आवास तथा भवन निर्माण विभागले डीपीआर तयार गरिसकेको छ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा उक्त केन्द्र सञ्चालित छ ।
केन्द्रलाई देशकै एक विशिष्ट अस्पतालका रुपमा तथा चिकित्सा शिक्षण प्रतिष्ठानकारुपमा विकास गर्ने राष्ट्रपति पौडेलको चाहना रहेको प्रेस सल्लाहकार पोखरेलले बताए ।








