पालुङटार ८, बन्चरेटारमा खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

बाबुराम नेपाली
  • ख-
  • ख+

महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा श्री हाराहारी दलित महिला आमा समुह , पालुङटार नगरपालिका -८, बन्चरेटार, गोरखाद्वारा आयोजित खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सांसद टिका कुमारी बस्याल प्रमुख अतिथि तथा पालुङटार नगर पालिका उप मेयर बन्दना पाण्डे विशिष्ट अतिथिको रुपमा उपस्थित भएको खुल्ला तीज गीत तथा नृत्य कार्यक्रम हाराहारी दलित महिला आमा समुहका अध्यक्ष बिष्णु बसेलको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा कलाकारहरु चन्द्र परियार , पवनश्री परियार र उषा थापाले आफ्नो प्रस्तुति दिनुको साथै प्रतियोगितामा निर्णायकको भुमिका निभाउनुभएको थियो । उक्त अवसरमा स्थानिय कलाकार सुभाष नेपालीले क्यारिकेचर प्रस्तुत गर्नुभएको थियो ।
हाराहारी दलित गुठी भवनमा आयोजना गरिएको सो कार्यक्रममा सहभागी प्रमुख अतिथि , विशिष्ट अतिथि तथा कलाकारहरुलाई पालुङटार नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होप बहादुर नेपालीले स्वागत गर्नुभएको थियो भने हाराहारी दलित गुठी समाजले हाराहारी चौतारा देखि गुठी भवनसम्म पन्चेबाजा बजाएर स्वागत यात्रा गरेको थियो ।
१९ वटा समुहले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा प्रगतिशील महिला समुह लामाचौरले प्रथम स्थान हासिल गरेर नगद १० हजार रुपैया तथा प्रमाण प्राप्त गर्न सफल भएको थियो भने आयोजक हाराहारी दलित महिला समुह बन्चरेटारले द्वितीय स्थान प्राप्त गरेको थियो। यसैगरी समावेशी महिला समुह स्कुल लाइन लामाटार तृतीय , मिलिजुली दिदीबहिनी आमा समुह डाँडागाउँ चौथो तथा सरस्वती महिला समुह बन्चरे पाँचौ स्थानमा पर्न सफल भएका थिए ।
कार्यक्रममा सलिना मझकोटीले प्रस्तुत गरेको नृत्यले निकै चर्चा पाएको थियो । उहाँको नृत्यबाट प्रभावित हुनुभएका कलाकार तथा निर्णायक समितिका सदस्य पवनश्री परियारले सलिना मझकोटीलाई आफ्नो आगामी म्युजिक भिडियोमा नृत्य तथा मोडेलको रुपमा प्रस्तुत गर्ने बचनबद्धता व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा नेवा समुह लामाचौर गैरीले प्रस्तुत गरेको लाखेनाचमा पहिलोपटक महिलाले लाखे नाच्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?