बिरामी दमौली अस्पताल राजनीतिक भर्ति केन्द्र बन्दै

माधब पौडेल
  • ख-
  • ख+

तनहुँ । सामाजिक संजालतिर नियाल्ने हो भने लाग्दछ दमौली अस्पतालको निकै नै कायापलट हुन गईरहेको छ । हप्तैपिच्छे संघका मन्त्री, प्रदेशका कार्यवाहक मुख्यमन्त्री, मन्त्री, वर्तमान  सांसदहरुदेखि भुतपुर्व सांसदहरुको आईरो लागेको छ । सामाजिक संजालमा फोटोहरुको लाईक कमेन्ट गर्ने बाढि यस्तो छ कि अस्पताल अगाडि उभिएर वा विभिन्न वार्डहरुमा चाहारेर फोटो खिच्नेहरुले अस्पतालमा आमुल परिवर्तन ल्याईहाल्छन् । बाहिरी जिल्लाका आम मानिसहरुलाई लाग्दो हो वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, पुर्वमन्त्रीहरु गोविन्दराज जोशी, कृष्णकुमार श्रेष्ठ किसान, अमरराज कैनी, रास्वपाका उपसभापति एवं वरिष्ठ अर्थविद् डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, राष्ट्रिय योजना आयोगका पटक पटकका पुर्व उपाध्यक्ष डा। जगदिशचन्द्र पोखरेल, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, राष्ट्रिय सभाकी पुर्व सदस्य कलिला खान, गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरल, गण्डकी प्रदेशका पुर्व मन्त्री डोवाटे बि।क।, गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, गण्डकी प्रदेशका पुर्व सांसद सरिता गुरुगं, गण्डकी प्रदेश योजना आयोगको पूर्व उपाध्यक्ष रघुराज काफ्ले लगायतका एक से एक महानुभावहरु भएको तनहुँ जिल्लाको सदरमुकामको अस्पताल १५ बेडको भएपनि चकाचक छ । तर नेताहरुले अस्पतालमा पुगेर जे जस्तो गफ हाँकेर फोटो खिच्दै सामाजिक संजालमा पोष्ट्याए  पनि दमौली अस्पताल आफै बिरामी छ ।

केहि दिन अगाडि गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा अस्पताल निरिक्षणमा आउदा एक जना बिरामी कुरुवा ”३ दिन भयो अस्पतालमा बिरामी कुरेर बसेको खानेपानीको धारा भनेर लेखेको छ पानी भने कहिल्यै देखेको छैन मन्त्रीज्युलाई भन्नु पर्यो” भनेर जान लाग्दा अस्पतालका कर्मचारीले ति महानुभावलाई बिन्तिभाउ गर्दै रोकेको दृश्य हेर्न लायक थियो ।
त्यसो त १५ बेडको स्विकृत भएपनि ५० बेडको सेवा प्रदान गरिरहेको दमौली अस्पतालमा आउने बिरामीलाई त्यहाँ उपलब्ध भएका स्वास्थ्यकर्मीहरुले आफ्नो ज्ञान र बलबुताँले भ्याएसम्म सेवा दिएको कुरामा दुईमत छैन तर पनि हुनुपर्ने भौतिक सुविधाहरु उपलब्ध नगराईदिदा राजनीतिकोे आडमा जागिर खाएर काम नगर्ने कामचोर कर्मचारीको त कुरै भएन काम गर्न खोज्ने कर्मचारीहरुलाई काम गर्न र जस पाउन गारो भईरहेको पनि कहि कतै छिपेको छैन । जस्को सानो उदाहरण जलश्रोतको धनी देश नेपालमा लोडसेडिगं हुनु त नौलो कुरा भएन तर लाईनमा बसेका बिरामीले लोडसेडिगं भएपछि बत्ति नआईन्जेल कुर्नुपर्ने बाध्यता अनि बत्ति आएपछि सिस्टम चल्न १०, १५ मिनेट कुर्नुपर्ने विवशता कहिले हट्ने हो अस्पतालमा आएर फोटो सेसन गर्नेहरुलाई त यत्रो बर्षसम्म थाहा भएन शायद भगवानलाई नै थाहा होला ! बल्लबल्ल बत्ति आईहाल्यो भनेर खुशीभयो सिस्टम शुरु हुनु १५, २० मिनेट लाग्छ उक्त सिस्टम अपडेट हुदाँ हुदै बत्ति गयो र तपाईको काम हुन सकेन भने त्यो आफ्नै दुर्भाग्य त्यो त दमौली अस्पताल जाने गरेका सबैले बुझेकै कुरा हो । शुरुमा नाम दर्ता तथा नविकरण गराउन बस्दा लाईन गयो भने सास्ति, ल्याव चेक अपको लागि पैसा तिर्न लाग्दा लाईन गयो भने सास्ति, अनि ल्यावमा नाम टिपाउदै गर्दा बत्ति गयो भयो अर्को सास्ति, औषधी किन्न लाग्दा, दुरदराजबाट आएको मानिसले आजै रिर्पोट पाईन्छ कि भनेर बस्दा पाउने सास्ति, अस्पतालको बेडमा बस्दाको सास्ति त झन् बयान गरिसाध्य नै छैन । तनहुँका एकजना पत्रकार भन्दै हुनुहुन्थ्यो ”बच्चा बिरामी भएर अस्पतालको नयाँ भवनमा बेडमा बसेको छतको पाप्रा उप्किएर खस्दो रहेछ , आँखामा परेर अर्को रोग लाग्ला भन्दाको डर !” जिल्ला सदरमुकामको अस्पतालमा बिजुलीको व्याकअप पनि नहुनुसरकारले तोकेका विमाका औषधी पाउनु भाग्यको कुरा र त्यहि अस्पताल जो आफै बिरामी छ त्यसलाई दोहन गर्न सबैजना लाग्नुले पनि दमाौली अस्पतालको माया कसैलाई पनि रहेनछ भन्न सकिन्छ नत्र प्रदेश सरकार अन्तर्गतको दमौली अस्पताललाई ५० बेडको स्विकृत लिनको लागि केहि रोपनी जग्गाहरु चाहिन्छ भन्दा दमौली जस्तो ठाउँमा भेट्न सकिएको छैन । दमाौली त्यहि स्थान हो जहाँ सयौका सयौ रोपनी खोला, खोल्सि गौचरन, बगरका जग्गाहरु व्यक्तिका नाममा दर्ता भए आज दमौली अस्पताल जग्गा नपाएर आडैका सरकारी कार्यालयतिरका जग्गामा आँखा गाड्नु परेको छ ।

दमौली अस्पताल सम्हाल्छु भन्दै अस्पताल व्यवस्थापन समितिमा उहाँहरुकै भाषामा एकसे एक स्वघोषित वरिष्ठहरु आए तर कसैले कहि लछारपाटो लगाउन सकेनन् कोहि अस्पतालको लालपुर्जा भएको १३, १४ रोपनी जग्गा खोज्छु लागे कोहि कहाँबाट औषधी खरिद गर्न सकिन्छ भन्दै अस्पताल प्रमुखसग नबोलिकन बसे, कोहि कसरी अस्पताललाई अस्पताल होईन कार्यकर्ता भर्ति केन्द्र बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिए जिल्लाको मानसम्मान, जिल्लावासीको आवश्यकतालाई ध्यान दिएको भए अस्पताल व्यवस्थापनमा छिर्नासाथ अस्पताल सुधार्न तर्फ ध्यान दिने थिए नकि आफ्ना मान्छेहरुलाई जागिर लगाउन । अनसन चौतारीमा बसेर एकजना भन्दै थिए ”जागिर त लगाए तर हाम्रो पार्टीसग गोरुँ बेचेको पनि साँईनो नभएकालाई कसरी जागिर लगाए म चाँहि दंग परेको छु” । त्यसरी नै सम्पूर्ण जिल्लावासी नै दंग परेर बर्षौदेखि हेरिरहेका छन् र भनिरहेका छन् ”यो बिरामी दमौली अस्पतालको व्यवस्थापन समितिको काम अस्पताल सुधार्नु रहेनछ अस्पतालमा राजनीति गर्नुरहेछ जुन हिजो पनि चलेको थियो आज पनि चलेको छ फरक यत्ति हो हिजो कति राजनीति घुसेको थियो आज कति घुसेको छ भन्ने ?”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?