तनहुँ । व्यास नगरपालिका वडा नं. ४ दमौली बजारमा रहेको कन्काई ग्लोबल एकाडेमीका विद्यार्थीले खाजा खर्चबाट रकम जोगाएर मृगौला रोगीलाई आर्थिक सहयोग गरेका छन् । उक्त एकाडेमीका बिद्यार्थी तथा अभिभावकहरुले स्वतस्फुर्त रुपमा व्यास १० का मृगौला रोगी कृष्ण न्यौपानेलाई ८ हजार ५७० रुपैया सहयोग गरेका हुन् ।
कन्काई ग्लोवल एकाडेमीका प्रबन्ध निर्देशक मिलन गोदार र विद्यार्थी प्रतिनिधिबाट कृष्ण न्यौपाने बचाउ अभियान संचालन गरेका सर्वज्योति डट कम् का संचालक माधब पौडेललाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
उक्त रकम हस्तान्तरण गर्दै एकाडेमीका प्रबन्ध निर्देशक गोदारले नयाँ जोश, जाँगर र व्यवस्थापनका साथ संचालनमा आएको कन्काई ग्लोवल एकाडेमीका विद्यार्थी तथा अभिभावकहरुले आफ्नो तर्फबाट समाजमा योगदान गर्नुपर्छ भन्ने मनसायले उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको बताएका थिए ।
२ बर्षको उमेरमा आमा, आजभन्दा ७ बर्ष अगाडि सडक दुर्घटनामा बुबा गुमाएका, शरिरमा एउटामात्र भएको मृगौला पनि खराव भएका न्यौपानेको आर्थिक अभावमा राम्रोसग उपचार हुन पाएको छैन भने अर्थ संकलन गरि मृगौला प्रत्यारोपण गर्नुपर्नेछ ।








