पाेखरा । नेपालमा पहिलाे पटक हुन लागेकाे नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियाेगितामा पाेखरेलीहरुकाे समर्थन जुटाउन पाेखरा एभेन्जर्सले बिहीबार र्याली कार्यक्रमकाे आयाेजना गरेकाे छ । र्यालीमा सहभागीहरुले पोखराका विभिन्न भागकाे परिक्रमा गरेका थिए । साे कार्यक्रममा दक्षिण अफ्रिकाका लाेकप्रिय खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहकार परामर्शदाता जोन्टी रोड्स सहित क्रिकेटसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीहरु र पोखरेली क्रिकेटप्रेमीहरु सहभागी थिए ।
पोखरा लेकसाइडकाे फिस्टेल गेटबाट सुरू भएको र्याली हल्लनचोक, जिरो किमि, सभागृह चोक, न्यूरोड, महेन्द्रपुल,, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, मुस्ताङचोक हुँदै पुनः फिस्टेल गेटमा पुगेर सम्पन्न भएकाे तनहुँ क्रिकेट संघका अध्यक्ष मदन तिमल्सेनाले जानकारी दिए । गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत नौवटा संघसंस्थाले संयुक्त रुपमा ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाएका थिए ।
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्कि रहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुवन्ध भइसकेका छन् ।
नेपाली खेलाडीहरु सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुवन्ध गरिसकेको छ ।
प्रत्येक फ्रेन्चाइज टोलीले चारजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपिएलमा आठ टोलीले १६ मंसिरदेखि प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा एभेन्जर्सका चेयरम्यान सुवोध त्रिपाठीले क्रिकेटलाई उद्योगको रुपमा स्थापित गर्ने बताएका छन् । र्याली पछि पाेखरामा पत्रकारसँग कुरा गर्दै त्रिपाठीले प्रिमियर लिग नेपाली क्रिकेटको भविष्यको बाटो कोर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । “अहिले नै हामीले नाफा घाटाको कुरा गरेका छैनौं । हामी व्यवसायिक क्रिकेट खेलको विकास होस भन्ने चाहन्छौं,” उनले भने । पोखरा एभेन्जर्सले युवा खेलाडी उत्पादन गर्दै व्यवसायिक क्रिकेटलाई अघि बढाउन उद्योगको रुपमा स्थापित गर्ने उनकाे भनाइ छ ।
टिमको सल्लाहकार परामर्शदाताको रुपमा रहेका लिजेन्ड क्रिकेटर जोन्टी रोड्सले आफू पोखरा आउन पाउँदा र पोखरा एभेन्जर्ससंग जोडिन पाउँदा खुसी लागेको बताउँदै पोखरा क्रिकेट रंगशाला विश्वकै उत्कृष्ट भएको बताए ।
यस्तै प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा एभेन्जर्सलाई समर्थन गर्न आग्रह गर्दै चर्चित खेलाडी जोन्टी रोड्सको उपस्थितिले समग्र क्रिकेट खेलको विकासमा माहोल बनाउन समेत भूमिका खेल्ने विश्वास व्यक्त गरे ।