बाख्रा चोरेको निहुँमा ३० वर्षीय सुरेशको हत्या, युवतीसहित ५ जना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

कैलाली । कैलालीमा बाख्रा चोरी गरेको निहुँमा एक जनाको हत्या गरिएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।

२४ साँझ ६ बजेतिर १०÷१५ जनाको समूहले उनीमाथि आक्रमण गरेको मृतकका आफन्तले बताएका छन् । ‘गाउँमा एउटा बाख्रा हराएको थियो उहाँले भेटेर आफ्नो मेडिकल नजिकै बाँध्नु भएको थियो । हराएको बाख्रा भेटेकोमा धन्यवाद दिनुपर्नेमा उल्टै निर्घात कुटपिट भयो’, उनको एक आफन्तले भने ।

कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको हो । मृतकका आफन्तले १० जनाविरुद्ध किटानी दिएका छन् । अहिलेसम्म प्रहरीले पाँच जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार भुलमाथि कुटपिट गर्ने गौरीगङ्गा–११ को कान्तिपुर बस्ने युवतीसहितका पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जङ्ग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल बिक र ३० वर्षीय धर्म बिक रहेको डिएसपी बोहराले बताए ।

‘हामीले पाँच जनालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘दोषीहरूलाई कारबाही हुन्छ ।’

भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो । उनीहरूमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरि मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
साभारः नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्