परराष्ट्र मन्त्रालय र निर्यात व्यवसायी महासंघको संयुक्त आयोजनामा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । नेपाल सरकारको परराष्ट्र मन्त्रालय र निर्यात व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा आज परराष्ट्र मन्त्रालयमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विभिन्न मुलुकमा खटिन लागेका नव नियुक्त नेपाली राजदूतहरूसँग निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरिएको थियो। परराष्ट्र मन्त्री माननीय आरजु राणा देउवाले साना तथा घरेलु उद्यमीहरूलाई आफ्नो उत्पादनलाई बजारसम्म पुर्‍याउन देखिएका चुनौतीहरू समाधान गर्न यो कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाली कच्चा पदार्थबाट निर्मित वस्तुहरू गुणस्तरीय भए पनि गैर(भन्सार अवरोधका कारण ती वस्तुहरूको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच कठिन भइरहेको बताउनुभयो। साथै, निकासी हुने वस्तुहरूको गुणस्तरीय प्याकेजिङमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कार्यवाहक परराष्ट्र सचिव अमृत कुमार राईले स्वागत मन्तव्य राख्दै निजी क्षेत्र देशको अर्थतन्त्र बलियो बनाउने मुख्य आधार भएको बताउनुभयो। उहाँले खटिन लागेका राजदूतहरूलाई आफू कार्यरत देशमा नेपालका लागि बिक्री एजेण्टको रूपमा काम गर्न आग्रह गर्दै मन्त्रालय सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो।

निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर प्रसाद पाण्डेयले महासंघले निर्यात व्यापारलाई सहज बनाउन सधैँ तत्पर रहेको जानकारी गराउँदै निकासी अभिवृद्धिका लागि राजदूतहरूले खेल्न सक्ने भूमिकाको बारेमा चर्चा गर्नुभयो। महासंघका उपाध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपालका निर्यात वस्तुहरूको प्रवर्द्धनमा नियोगहरूको भूमिका विषयमा प्रस्तुति दिनुभयो।

सल्लाहकार लिलामणि पौड्यालले नेपालबाट निर्यात हुने वस्तुहरूलाई विशेष बजारमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउँदै निर्यातसम्बन्धी विषयमा निर्यात व्यवसायी र नियोगबीच निरन्तर सम्पर्क रहनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी राजदूतहरूले आफू कार्यरत देशमा नेपालको निर्यात वृद्धि गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साथै, निर्यात व्यवसायीहरू र राजदूतहरूबीच समस्याहरू र समाधानका उपायबारे अन्तरक्रिया पनि गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?