काठमाडौं – छिरिङ पेम्बा शेर्पा चर्चित नेपाली पर्वतारोही हुन् । आईएफएमजीए प्रमाणित अन्तर्राष्ट्रिय पर्वत मार्गनिर्देशक शेर्पा उच्च हिमाली पर्वतारोहणको क्षेत्रका एक साहसी र धैर्यवान पर्वतारोहीमा गनिन्छन् । १२ डिसेम्बर १९८५ मा दोलखा जिल्लाको गौरीशंकर १ , रोल्वालिङमा जन्मेका छिरिङ पेम्बा शेर्पा बाल्यकालदेखि नै हिमालयका भव्य शृंखलाहरूको बीचमा हुर्किए। उनका आमाबुवा आङ छिरी शेर्पा र फुर्दिकी शेर्पा तथा हजुरबुवा(हजुरआमा निम छिरी शेर्पा र पेम्फुती शेर्पाले हिमालप्रतिको उनको मोह र अरूलाई सहयोग गर्ने प्रतिबद्धतामा महत्वपूर्ण भूमिका खेले।
छिरिङ पेम्बा शेर्पाका पर्वतारोहण उपलब्धिहरू अद्वितीय छन। १७ प्रयासमध्ये ११ पटक सगरमाथा आरोहण सफलतापूर्वक पूरा गरेका उनी, मनास्लुमा ८ पटक, आमादब्लममा १५ पटक, साथै के२, ब्रोड पिक, चो ओयु, हिमलुङ, किलिमाञ्जारो, डेनाली र ल्होत्सेमा दुई पटक चढिसकेका छन। उनले छवटा ८,००० मिटरभन्दा अग्ला हिमालहरू पनि सफलतापूर्वक आरोहण गरेका छन्, जसले उनलाई नेपालका एक अग्रणी पर्वतारोहीको रूपमा चिनाएको छ।
पर्वतारोहणका उपलब्धिहरूभन्दा पर, पेमाले जीवन बचाउन असम्भवजस्तै स्थानमा बहादुरी प्रदर्शन गरेका छन। २०१० मा चो ओयुमा हिमपहिरो आएपछि उनले नेपाली र तिब्बती आरोहीहरूको उद्धार गरेका थिए। २०१२ मा मनास्लुमा आएको हिमपहिरोमा धेरैको ज्यान जोगाउन उनी मुख्य उद्धारक बने। २०१४ मा सगरमाथाको खुम्बु आइसफल दुर्घटनामा उनले गम्भीर घाइते भएका आफ्ना भिनाजुलाई उद्धार गरे। २०१५ को महाभूकम्पपछि उनले सगरमाथा आधार शिविरमा ५० भन्दा बढी घाइते आरोहीहरूको उद्धारमा अहोरात्र खटिए। २०२१ मा उनले मिङ्बो एगर हिमालमा हिमपहिरोमा परेका तीन जना फ्रेन्च आरोहीको शव निकाल्न ६ दिने मिशनको नेतृत्व गरे। २०२४ मा ल्होत्से हिमालमा आरोहणपछि गम्भीर अवस्थामा रहेका म्यासेडोनियाका एक आरोहीलाई बचाउन उनले जोखिम मोले।
पर्वतारोहण नगरेका बेला छिरिङ पेमा युवा आरोहीहरूलाई प्रशिक्षण दिनमा व्यस्त रहन्छन। नेपालमा हिउँदयामका प्रशिक्षक र नर्वेमा गृष्मकालीन अभियानका नेता रहेका उनी भविष्यका पर्वतारोहीलाई सुरक्षित आरोहणका लागि आवश्यक ज्ञान र सीप हस्तान्तरण गर्न कटिबद्ध छन।छिरिङ पेमा शेर्पाको कथा शेर्पा समुदायको समृद्ध परम्परा र मूल्यमा आधारित छ। उनी विश्वका अग्ला हिमालमा आरोहण गर्नेहरूका लागि प्रेरणा मात्र नभई मानवताको प्रतीक पनि हुन। जसरी उनले आफ्नो यात्रा अघि बढाइरहेका छन्, उनी साहसिक व्यक्तित्व र जीवन बचाउने नायकका रूपमा संसारभरि सम्मानित भइरहेका छन।








