नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदै

सर्वज्योति
  • ख-
  • ख+

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्