कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कनेक्रममा उनीमाथि सुरुङ्गा नजिकै आक्रमण भएको हो । आक्रमणबाट उनको निधारमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा पुर्व मुख्यमन्त्री थापा चढेको भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा पक्राउ पर्नेहरू नेपाल विद्युत् प्राधिकरणका कर्मचारी हुन् ।
बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।
आक्रमणबाट निधारमा चोट लागेका थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । प्रहरीले तत्कालै दुई जनालाई पक्राउ गरेपनि प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।








