अमेरिकाबाट हतकडी र नेल लगाएर धमाधम धपाइँदै अवैध आप्रवासी, कति छन् नेपाली ?

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । गत जनवरी २० मा शपथग्रहण गरेकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमामा संकटकाल घोषणा गरे । सेना परिचालन गरे । उनी त्यत्तिमै अडिएनन्, त्यो क्षेत्रको सुरक्षा गर्न नसकेको भन्दै कोस्ट गार्ड कमान्डर महिला एड्मिरल लिन्डा फागनलाई हटाए ।

अमेरिकी मिडियाहरुमा ट्रम्पले शपथ लिनुभन्दा अगाडि समाचारहरु आएका थिए( ट्रम्प सरकारले पहिलो दिनबाटै अवैध आप्रवासीहरुमाथि धरपकड गर्नेछ । सिकागोबाट त्यो सुरु हुनेछ । बेलायती विश्व च्यानल बीबीसीलगायतले यो समाचार लेखेका थिए ।

ट्रम्पको शपथग्रहणकै दिन अवैध आप्रवासीहरुलाई धरपकड गरिएका समाचार त आएनन्, तर अब क्रमशः आउन थालेका छन् ।

सुरु भयो अवैध आप्रवासीहरुको पक्राउ र स्वदेश फिर्ती
शपथग्रहण हुनुभन्दा अगाडि नै सिकागोबाट तत्काल अवैध आप्रवासीहरुलाई पक्राउ गरेर फर्काउने भनिएकोमा अहिले त्यस्तो गरिएको समाचार आएका छन् । न्यूज नेसनका अनुसार अमेरिकी सुरक्षाकर्मीहरुले घरघरमा गएर, ढोका(ढोकामा गएर अवैध आप्रवासीहरुको पक्राउ सुरु गरेका छन् । अवैध आप्रवासीहरुको पक्राउ परेसँगै सिकागोको छरछिमेक क्षेत्रमा क्रमशः ‘घोस्ट टाउन’ बन्न थालेका छन् ।

समाचारमा देखाइएको भिडिओअनुसार विभिन्न अपराधमा संलग्न पाइएका अवैध आप्रवासीहरुलाई हातमा हतकडी र नेल बाँधेर पक्राउ गरिएको छ । सिकागो क्षेत्रबाट २ हजार ४०० जना पक्राउ गरिएका छन् । आइतबार सार्वजनिक समाचार तथा भिडिओअनुसार पक्राउ गरिएकाहरु धेरैजसो ल्याटिन अमेरिकी छन् । पक्राउ गरिएकाहरु इराक र बेलिजका जेलमा परेका अपराधीहरु भएको पनि न्यूज नेसनको समाचारमा दाबी गरिएको छ ।

ट्रम्प सरकारले अवैध आप्रवासीहरुले पक्राउ र फिर्ताको क्रममा असहयोग गर्ने स्थानीय तथा राज्य सरकारका अधिकारीहरुलाई पनि छानबिनको दायरामा ल्याउने बताएको न्यूज नेसनले उल्लेख गरेको छ ।

आप्रवासी फिर्ता गर्न पहिलो पटक सैन्य जहाज प्रयोग गर्दै अमेरिका, मेक्सिकोले दिएन अनुमति
अमेरिकाले अवैध आप्रवासीहरुलाई फिर्ता गर्न पहिलो पटक सैन्य जहाज प्रयोग गरेको छ । अमेरिकी मिडिया एबीसीन्यूजका अनुसार टेक्ससबाट सैन्य जहाजमा १७ जनालाई ग्वाटेमालामा फर्काइएको छ ।

यस्तै सैन्य जहाजबाट फर्काइएका अरु देशका अवैध आप्रवासीहरुको तस्बिरहरु पनि अमेरिकी मिडियाहरुमा सार्वजनिक भएका छन् । हात बाँधेकाहरुलाई लाइन लगाएर सैन्य जहाजमार्फत स्वदेश फर्काइएका अवैध आप्रवासीहरुका तस्बिर अमेरिकी मिडियाहरुमा आएका छन् ।

अमेरिकाका विभिन्न शहरहरुमा पक्राउ परेका अवैध आप्रवासीहरुलाई धमाधम सैन्य जहाजमार्फत उनीहरुलाई आफ्नै देश फर्काउन सुरु गरिएको एबीसीन्यूजले उल्लेख गरेको छ । अमेरिकी सेनाका सी-१७ जेटहरुले अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउन थालेको र त्यसको पहिलो चरण ग्वाटेमालाबाट सुरु भएको छ । ग्वाटेमालामा १६० जना फर्काइएको छ ।

अमेरिकाले ल्याटिन अमेरिकाका अवैध आप्रवासीहरुलाई सैन्य जहाजमा अवैध आप्रवासीहरु फर्काउन लागे तापनि दक्षिणी छिमेकी मेक्सिकोले भने अमेरिकी सैन्य जहाज अवतरण गर्न अनुमति दिएको छैन । अमेरिकाको एनबीसीन्यूजका अनुसार अमेरिकाको सी(१७ सैन्य जहाजले ग्वाटेमालामा ८० जनाका दरले बिहीबार राति दुई उडान गरेका थिए । त्यस्तै उडान दक्षिणी छिमेकी मेक्सिकोमा गर्न खोज्दा मेक्सिकोले उडान अनुमति नदिएको एनबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले मेक्सिको हुँदै आएका मेक्सिकोबाहेकका आप्रवासीहरु त्यही बस्नुपर्ने तर्क अगाडि ल्याएको छ । अवैध आप्रवासी छोडेको खण्डमा मेक्सिकोलाई अतिरिक्त भन्सार कर थोपर्ने पनि ट्रम्पले धम्की दिएका छन् ।

कति छन् अमेरिकामा अवैध आप्रवासीहरु ?
विभिन्न मिडियाहरुले विभिन्न तथ्यांक लेखेका छन् । अमेरिकामा अवैध आप्रवासीहरुको आँकडा करोड बढी भएको देखिएको छ । गैरकानूनी तलबमा अमेरिकामा लुकेर बसेका, औपचारिक कागजातहरु नभएका आप्रवासीहरुलाई अवैध आप्रवासी भनिएको छ । न्यूज नेसन नामक मिडियाका अनुसार अमेरिकामा डेढ करोड कागजात नभएका अवैध आप्रवासी छन् । सन् २०२२ जनवरीसम्मको एक अध्ययनले अमेरिकामा एक करोड बढी अवैध आप्रवासी भएको देखाएको थियो ।

अमेरिकाको त्यही आप्रवासी आँकडालाई नै लक्षित गरेर ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्सले चुनावी उम्मेदवार हुँदाताकैबाट अवैध आप्रवासीहरुले अमेरिकामा समस्या ल्याएको बताएका थिए । ओहिओ राज्यको स्प्रिङगफिन्डमा अवैध आप्रवासीहरुले घरपालुवा जनावरहरु कुकुर र बिरालो पनि खाएको ट्रम्पले कमलासँगको राष्ट्रपतीय बहसमा भनेका थिए । जेडी भेन्सले पनि यही लाइन दोहोर्‍याएका थिए ।

ट्रम्पको यो भनाइको सर्वत्र आलोचना भएको थियो, तर ट्रम्प पक्षधरहरुले पनि यस्ता घटनाहरु घटेकै आधारमा ट्रम्पले भन्दै आएको बताएका थिए ।

अवैध नेपाली आप्रवासी कति समस्यामा छन् ?
अमेरिकाका एक करोड बढी अवैध आप्रवासीलाई स्वदेश फर्काउने ट्रम्पको योजना छ । यसमा तीन हजार बढी नेपाली हुने बताइएको छ । आगामी ६ महिनाभित्र तीन हजार बढी नेपालीलाई अमेरिकाले स्वदेश फर्काउन सक्ने बताइएको छ ।

अमेरिकाबाट सञ्चालन हुने नेपयोर्क न्यूज पोर्टलका अनुसार अमेरिकामा सन् २०१५ जुन २४ पछि पुगेकाहरु सबैभन्दा समस्यामा हुनेछन् । उनीहरुको फिर्ती प्राथमिकतामा हुनेछ । उसो त अमेरिकाबाट फर्काइएका नेपालीहरु अबमात्र फर्कन लागेका होइनन् ।

योभन्दा अगाडिको बाइडेन सरकारको पालामा पनि अमेरिकाका अवैध नेपालीहरु स्वदेश फर्काइएका थिए । त्यसरी फर्काइएकाहरुको संख्या पछिल्लो चार वर्षमा १०० बढी भएको नेपयोर्कले उल्लेख गरेको छ ।

अवैध आप्रवासीबारेमा भारतीय विदेशमन्त्रीले भने- नेपालकी परराष्ट्रमन्त्री मौन
अमेरिकामा पुगेका अवैध आप्रवासीहरुमा सबैभन्दा धेरै आप्रवासीहरु दक्षिण एसियाबाट भारतका छन् । र, भारतीय विदेशमन्त्री एस। जयशंकरले आफ्ना अमेरिकी समकक्षी मार्को रुबिओसँगको कुराकानीमा अवैध भारतीय आप्रवासीहरुको सवाल उठेको थियो । त्यो सवालमा जयशंकरले कानूनी रुपमा भारत फर्काइने अवैध आप्रवासीहरु ल्याउन भारत तयार भएको बताएका थिए ।

उसो त भारत अमेरिकामा वर्ष २०२४ मा पक्राउ परेका सबैभन्दा धेरै गैरकानूनी आप्रवासीको देशमा चौथो स्थानमा छ । अमेरिकामा गत वर्ष २ हजार ६४७ जना भारतीय पक्राउ परेका थिए । भारतभन्दा धेरै गैरकानूनी आप्रवासीहरु पक्राउ पर्ने देशहरुमा मेक्सिको, होन्डुरस र ग्वाटेमाला क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

अमेरिकी सरकारले सार्वजनिक गरेको एक रिपोर्टअनुसार अमेरिकाले पक्राउ नगरेका २ देखि ११ लाखसम्म अवैध आप्रवासी भएका दश देशमा मेक्सिको, ग्वाटेमाला, होन्डुरस, भेनेजुयला, एल साल्भादोर, क्युबा, कोलम्बिया, निकारागुआ, इक्वेडर र हाइटी छन् । सबैभन्दा धेरै मेक्सिकोका ११ लाख ३५ हजार ७४३ जना पक्राउ पर्न बाँकी छन् । सबैभन्दा थोरै हाइटीका २ लाख ९२ हजार १७८ जना रहेका छन् ।

नेपाल अमेरिकाको गैरकानूनी पक्राउ परेका तथा गैरकानूनी अमेरिकामा प्रवेश गरेका शीर्ष दश देशमा पर्दैन, तर तीन हजार बढी नेपालीलाई स्वदेश फिर्ता हुने आँकडा आइसकेको छ । नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले यो विषयामा केही बोलेकी छैनन् । न अमेरिकास्थित नेपाली दूतावासले नै केही तथ्य सार्वजनिक गरेको छ ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?