लमजुङ / लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारका ६७ वर्षिय रामबहादुर गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
माघ ३ गतेदेखि हराएका उनी सिउँडीबार माथिको फेदीकुना सामुदायिक वनमा मृत अवस्थामा शुक्रबार भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार भीरबाट लडेर रुखमा अड्किरहेको अवस्थामा गुरुङ मृत भेटिएको हो । स्थानीयले मृत अवस्थामा एउटा शव रहेको जानकारी शुक्रबार दिउँसो ३ बजेतिर गराएका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चोनु गुरुङको कमाण्डमा अनुसन्धान टोली खटिएर मुचुल्का उठाउनुका साथै शवको उद्दार गरिएको थियो ।
यसअघि प्रहरी, आफन्त र स्थानीयले खोजी गर्दा पनि गुरुङ भेटिएका थिएनन् । हराएको २ सातापछि मृत अवस्थामा भेटिएका उनको शव पोष्ट मार्टमको लागि प्रदेश अस्पताल बेंसीसहरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
लमजुङ खबर








