काठमाडौं । आउँदो चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनलाई लक्षित गरी नेपाल विधार्थी संघ शेखर कोइराला समूहले छुट्टै भेलाको आयोजना गरेको छ ।
यो समूहले आरआर क्याम्पसमा स्ववियु निर्वाचन विशेष उपत्यकास्तरीय विद्यार्थी भेला गरेको हो । भेलामा विश्वविद्यालय, आंगिक क्याम्पसहरुका स्ववियु सभापति, पदाधिकारी, विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
नेविसंघकी नेतृ प्रेमिका राना मगरको सभापतित्वमा आयोजित भेलामा नेविसंघका पूर्व अध्यक्षहरु गुरुराज घिमिरे, अध्यक्ष रञ्जित कर्ण, कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की र नेता शिव रिमालको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेता गुरुराज घिमिरेले स्ववियुको स्थापना विधार्थीको हक अधिकारको संरक्षण र जनतामा शिक्षाको वहुँच पुर्याउन स्थापना भएको बताए । उनले भने, ‘नेविसंघले कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्छ । क्याम्पसमा संगठनका लागि दुःख गरेका नेताले टिकट पाउनुपर्छ ।’ साथै चाकरीको भरमा टिकट दिने र वास्तविक विद्यार्थी नेतालाई अन्याय गर्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताए ।
पूर्वमुख्यमन्त्री कार्कीले पनि गुटका नाममा हुने अन्यायका विरुद्ध आवाज बुलन्द पार्न निर्देशन दिए । उनले आफू मुख्यमन्त्री हुँदाको उदाहरण दिँदै भने, ‘मेरो प्रदेशमा मुख्यमन्त्री काँग्रेसको भागमा परे पनि मुख्यमन्त्री नदिएर रातारात साँठगाँठ गरेर अर्को पार्टीलाई दिएपछि मैले खोसेर कांग्रेसको भागमा मुख्यमन्त्री ल्याएँ । विद्रोहको उदाहरण नै म हुँ । तपाईंहरु स्ववियु तयारीमा जुट्नुस, साथीहरुको संरक्षण हामी गर्छौ ।’
नेविसंघ केन्द्रिय सदस्य भुवन भट्टले चैत्र ५ गते त्रिविले तोकेको स्ववियु चुनावको तयारी गरिसकेको बताए ।
आसन्न स्ववियु निर्वाचनमा संस्थापन पक्षले पेलेर जाने सम्भावना बढेर गएपछि शेखर निकट समूहले छुट्टै भेला गरेको हो ।
नेपाल प्रेस








