बेसीशहर । लमजुङ प्रहरीले ३ महिनामा १ सय १२ वटा हतियार (बन्दुक) बरामद गरेको छ । बरामद गरेको हतियारमा राइफसलसहित छन् ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले असोज १६ गतेदेखि पुस २३ सम्म जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत मातहातका कार्यालयमार्फत नवीकरण म्याद सकिएर अबैध भएका हतियार संकलन गरिएको बताए ।
संकलन गरिएका हतियारलाई बुधबार प्रहरी कार्यालय परिसरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ ।
प्रहरीले एकनाले भरुवा बन्दुक १ सय ७ वटा, १२ बोर एकनाले २ वटा, एकनाले बृज लोडिङ राइफल एउटा, १२ बोर दुइनाले एउटा र २२ बोर हर्नेट बन्दुक एउटा संकलन गरेको जनाएको छ ।
प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जिल्ला प्रशासन कार्यालयबाट बरामद गर्नुपर्ने हतियारको संख्या ७ सय ६४ वटा प्राप्त भएको बताए । यसमा १ सय १२ वटा संकलन गरिएको उनले बताए ।
उनका अनुसार ५ सय ४५ वटाको विवरण प्राप्त भएको र ४ सय ७० वटाकोमात्रै लगत प्राप्त भएकोमा २ सय १९ वटा हतियारको विवरण प्राप्त हुन बाँकी रहेकाले खोजी भइरहेकोले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा १ हजार ५ सयको हाराहारीमा विभिन्न समयमा विभिन्न व्यक्ति तथा संस्थाले हतियार लिएका छन् । ती मध्ये २ सय ७५ वटा मात्रै नवीकरण भएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए । उनका अनुसार ५ वर्षसम्म हतियार नवीकरण नगरिए हतियार स्वतः अबैध हुन्छ । अबैध हतियारहरु राखेको पाइएमा कानुन बमोजिम कारबाही हुने भएकाले यसलाई बुझाउन उनले अनुरोध गरे ।
साभारः लमजुगं खबर








