पाेखरा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकाे गण्डकी प्रदेश अधिवेशन पाेखरामा हुने भएकाे छ । माघ २६ र २७ मा सम्पन्न हुने प्रदेश अधिवेशनकाे तयारी पूरा भएकाे पार्टीले बिहीबार पोखरामा पत्रकार भेटघाट मार्फत जानकारी दिएकाे छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले अधिवेशनकाे उद्घाटन गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए।
अधिवेशन सम्पन्न गर्न मूल आयोजक समितिसहित विभिन्न १२ वटा उपसमिति गठन गरिएकाे छ । पत्रकार भेटघाट कार्यक्रममा पार्टीकाे गण्डकी प्रदेश अधिवेशनको प्रचार प्रसार उप समितका संयोजक नवराज सुवेदी, पूर्वमन्त्री एवं पार्टी नेता तुलबहादुर गुरूङ, पोलिट्व्युरो सदस्य दिलुकुमारी पन्त र केन्द्रीय सदस्य एवं प्रदेश कमिटीका सचिव कृष्ण नेपाली लगायतले अधिवेशनको बारेमा जानकारी दिएका थिए ।
केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष बरालका अनुसार अधिवेशनमा प्रदेशका ११ जिल्लावाट ४५० जना पार्टी प्रतिनिधिहरुको सहभागीता रहने छ । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन भएका र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन भएका जनाइएको छ । यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समूदायवाट अनिवार्य गरिएको छ ।
अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।








