अपहरित बालकलाई लगिँदै थियो भारत, बनाइसकेका थिए आधार कार्ड

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । पाटनबाट माघ २४ मा अपहरणमा परेका ४ वर्षीय पल चेपाङलाई अपहरणकारीले भारत लैजान खोजेको भेटिएको छ ।

साँझ ८ बजेर २० मिनेटमा भियतनामी नागरिक माइ होङ्ग किन्हालनले उनलाई अपहरण गरेर कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाएर राखेका थिए । वीरगञ्ज हुँदै भारत लैजान खोजेको अवस्थामा बालकलाई गेस्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले  बताएका हुन् ।

आरोपीले माघ २५ मा बिहान साढे १० बजे काठमाडौँबाट वीरगञ्ज जाने ६८९८ नम्बरको टिकट काटेको भेटिएको छ । कलंकी स्थित मकालु पेट्रोल पम्प नजिकैको गेस्ट हाउसको १०७ नम्बर कोठामा बालकलाई बन्धक बनाएर माइ होङ्ग किन्हालनले भारत लैजान खोजेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

बालकलाई पञ्जाब लैजाने र त्यहाँ बिक्री गर्ने योजना बनाएर भियतनामी नागरिकले बालकको आधारकार्ड समेत बनाउन लगाएका थिए । आरोपीको मोबाइलमा बालकको फोटो प्रयोग गरिएको भारतीय आधारकार्डको फोटो भेटिएको छ ।

पुस १० मा क्रिसमस डे को दिनमा पाटनको कृष्ण मन्दिरमा पल चेपाङको दाजुभाइलाई भेटेर उनले चिप्स र चकलेट किनेर निकटता बढाए । त्यसपछि उनी पटक–पटक गएर बालकहरूसँग खेल्दै र खानेकुरा दिँदै नजिक बनाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । बालक बेपत्ता भएपछि उनकी आमा सरिता तामाङले प्रहरी प्रभाग मंगलबजारमा निवेदन दिएकी थिइन् ।

भियतनामी नागरिकले ट्याक्सीमा चढाएर बालकलाई सुरुमा झम्सिखेलमा लगेका थिए । झम्सिखेलबाट पुनः अर्को ट्याक्सी बुक गरेर सुन्धारास्थित श्री गुरु होटलमा लगेको देखिएको छ ।

अपहरणमा संलग्न भियतनामी २०२३ डिसेम्बर २७ मा पहिलोपटक नेपाल आएर ११ दिन बसेर नयाँ दिल्ली गएका थिए । उनी २०२४ अप्रिल २७ मा पञ्जाबबाट सडकमार्ग हुँदै नेपाल आएको देखिएको छ ।

काठमाडौँ आएपछि स्वयम्भूस्थित होटलमा २ महिना, ठमेल स्थित होटलमा १ हप्ता र पछिल्लो ६ महिनादेखि उनी बानेश्वरको कात्यानी चोकमा रहेको होस्टलमा बस्दै आएका थिए । उनी लामा भाषा सिक्न भनेर स्वयम्भू, कपन र बौद्धको गुम्बाहरूमा जान्थे । घुम्ने क्रममा पाटन दरबार स्क्वायरमा पल चेपाङलाई उनले भेटेका हुन् ।

रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्