
जनकपुरधाम । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित नवजन्म पुनः स्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कलैया ३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया ४ का २२ वर्षीय निरज सर्राफ, कलैया ६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया १ का २४ वर्षीय अरुण सर्राफ, कलैया २ का २१ वर्षीय प्रमेश्वर साह, कलैया ३ का २९ वर्षीय तमन्ना अली र कलैया १ का १९ वर्षीय सागर गुप्ता छन् । उनीहरुलाई केन्द्रबाटै पक्राउ गरेर कारबाही अगाडी बढाएको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।
सुधार केन्द्रमा बस्नेहरुबीच विवाद चर्केपछि बिहीबार रात ७ जना मिलेर कलैया उपमहानगर ९ का ३२ वर्षीय धीरेन्द्र महतोको निर्ममतापूर्वक कुटपिट गरेका थिए । राति नै उनलाई अस्पताल लगिएको थियो तर डाक्टरले मृत घोषणा गरेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए ।
महतो केन्द्रमा गएको १५ दिन मात्र भएको थियो । के विषयमा विवाद भएपछि उनलाई निर्ममतापूर्वक कुटेको कुरा खुल्न सकेको छैन् । यद्यपी केन्द्रमा नयाँ भएकै कारण पहिलेदेखि बस्दै आएकाहरु लफडा गरेर कुटपिट गरेको प्रहरीको अनुमान छ ।
महतोलाई एक समूहले कुट्दै गरेको सिसिटिभी फुटेज पनि सार्वजनिक भएको छ । महतोलाई पालैपालो सुरुमा मुक्काले र लडेपछि खुट्टाले हानेको भिडिओमा देखिन्छ । घटना विषयमा थप अनुसन्धान भइरहेको एसपी तामाङको भनाई छ ।
नेपाल प्रेस