कर्मचारी र जनप्रतिनिधिबीच आपसी समझदारी सहकार्य र सौहार्दपूर्ण सम्बन्धलाई बलियो बनाउन आवश्यकः नेकपा एमाले बन्दिपुर

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । बन्दिपुर गाउँपालिका अन्तर्गतका कार्यालयमा भएका सेवा प्रवाह अवरुद्धप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्दीपुर गाउँ कमिटी, तनहुँको ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्दीपुर गाउँ कमिटीका अध्यक्ष रवि श्रेष्ठद्धारा जारी विज्ञप्तिमा बन्दीपुर गाउँपालिका वडा नं. ६ का वडा सचिव श्री नविन भुसालमाथि कार्यस्थलमै भएको कुटपिट घटना प्रति नेकपा (एमाले) बन्दीपुर गाउँ कमिटी गम्भीर ध्यानाकर्षण व्यक्त गर्दछ भनिएको छ । अध्यक्ष श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्तिमा यो घटनाले कर्मचारी सुरक्षासँगै स्थानीय सेवा प्रवाहमा प्रत्यक्ष असर पुऱ्याएको छ, जसका कारण नागरिकहरु आवश्यक सेवा लिन नपाएर निराश भएका छन् । हाल सो घटनाको कानुनी प्रक्रिया अगाडि बढिसकेको छ । परिस्थितिजन्य कारणले घटित यी घटनालाई विधिसम्मत रूपमा समाधान गर्दै राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिबीच आपसी समझदारी सहकार्य र सौहार्दपूर्ण सम्बन्धलाई बलियो बनाउन आवश्यक देखिन्छ । सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमुखी बनाउन कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर हुनुपर्दछ भन्ने हाम्रो स्पष्ट धारणा छ ।
यही घटनाका कारण गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवाप्रवाह पूर्ण रुपमा बन्द गर्दा बन्दीपुर अस्पताल, धरमपानी स्वास्थ्य चौकी, वडा कार्यालय तथा गाउँपालिकाका विभिन्न सेवा केन्द्रहरूबाट प्रवाह हुने सेवा अवरुद्ध हुँदा सर्वसाधारण नागरिकहरू ठूलो समस्यामा परेका छन् ।
बिरामीहरू समयमै उपचार सेवा लिन नपाउनु, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू सामाजिक सुरक्षा सम्बन्धी सेवा लिन नपाएर फर्किनु, अन्य नागरिक प्रशासनिक सेवा नपाएर हैरान हुनु दुःखद र अस्वीकार्य अवस्था हो। यस घटनालाई लिएर कुनै पनि पक्षबीच कटुता उत्पन्न हुनु भन्दा कानुनी प्रक्रियाबाट निष्पक्ष समाधान खोज्नुपर्ने तथा अवरुद्ध सेवा प्रवाहलाई तत्काल पुनः सञ्चालन गरी नागरिकहरूको असुविधा न्यून गर्न सरोकारवाला निकायहरूलाई अपिल गर्दछौं ।
त्यसैगरी, तनहुँ जिल्लामा क्रियाशील ट्रेड युनियनकर्मीहरूलाई पनि यो घटनाको समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्न अनुरोध गर्दछौं । कर्मचारी हित, सुरक्षाको प्रत्याभूति र सेवा प्रवाहलाई प्रभावकारी बनाउन ट्रेड युनियनकर्मीहरूको सकारात्मक पहल आवश्यक रहेको विश्वासका साथ हामी आपसी समझदारीका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्न चाहन्छौं । घाइते वडा सचिव श्री नविन भुसालको स्वास्थ्य लाभको कामना गर्दै, भविष्यमा राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सम्बद्ध पक्षहरुलाई जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आह्वान गर्दछौँ भनिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्