आफूलाई डोमिनेट गरेको भन्दै खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सर्वज्योति
  • ख-
  • ख+

रोल्पाको त्रिवेणी गाउँपालिका ६ थुम्काटोलमा बस्ने ४० वर्षीय खिमबहादुर बुढा मगरले दुई छोरा र एक छोरीको आमा रहेकी ३२ वर्षीय श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

मलेसियामा काम गरेर फर्केका खिमबहादुरले मङ्गलवार बिहानै घरमै तरकारी बनाउँदै गरेकी श्रीमती अस्मिता बुढालाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेपछि पनि उनले हातमा हतियार लिएर घुमिरहेको र प्रहरी तथा स्थानीय छिमेकी आउँदासम्म पनि घरमै बसेका थिए । खिमबहादुरले बिहानै मदिरा सेवन गरेका खिमबहादुरले आफूलाई श्रीमतीले पटक पटक हेपेर बोलेको, भनेको नमानेका कारण आवेश आएर हत्या गरेको प्रहरी र स्थानीयलाई बताएका छन् ।

त्रिवेणी ६ का वडाध्यक्ष तथा यो घटनाको विषयमा सुरुदेखि प्रहरीलाई अनुसन्धानमा सघाएका वडाध्यक्ष नरेन्द्र भण्डारीले खिमबहादुरले श्रीमतीको हत्या गर्ने समयमा ४ कक्षामा पढ्ने माइलो छोरासँगै बसेर तरकारी बनाइरहेकी थिइन् भने १४ महिनाको छोरी काखमा बोकेकी थिइन् । ८ कक्षामा पढ्ने जेठो छोरा भने घरको काममा बारीमा गएका थिए ।

‘बिहानै अलिअलि मदिरा पिएका रहेछन्, यस्तो जघन्य घटना बनाए, श्रीमतीलाई त मारे, काखमा भएको बच्चा, साथमा भएका छोराहरूलाई कस्तो प्रभाव पर्योहोला कल्पना गर्न सकिँदैन’ उनले भने, ‘दुई जनाबीच विवाद त भइरहने रहेछ, पहिले पनि झगडा हुने रहेछ, छिमेकी बसेर सम्झाउने गरेका थिए ।’

विदेश गएर फर्के पनि खिमबहादुर गाउँमै खेती किसानी गरेर बसेका थिए । उनलाई मानसिक समस्या पनि केही हुनसक्ने भण्डारीको अनुमान छ ।

‘त्यो टोलमा ७ घर मात्रै छन्, खिमबहादुरको ससुराली पनि नजिकै छ, माइतीलाई पनि अस्मिताले खतरा रहेको जानकारी दिएकी रहेछन्,’ उनले भने, ‘गाउँमा यस्ता घटनाले निकै समस्या बढाउने भयो, परिवार छिमेकमा उस्तै त्रास भयो, प्रहरी र हामी पुग्दा पनि उनले खुकुरी लिएर हिँडिरहेका थिए, तर हामीले भनेपछि खुरुखुरु हतियार राखेर आए ।’

घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख सरोज प्रजापतिले श्रीमतीले डोमिनेट गरेर आवेशमा आएर हत्या गरेको अहिलेसम्म खुलेको बताए ।

‘दुई छोरा र छोरीको श्रीमानले गरेको यस्तो घटनाले परिवार र गाउँमा त्रास देखिएको छ, अझै अनुसन्धान त गरिरहेका छौं, उनी उतिबेलै हाम्रो निमन्त्रणमा आएका हुन् तर उनले स्वीकारेको अनुसार मदिरा सेवनपछि आवेशमा आएको नै भन्नेछ ।’

श्रीमती हत्यामा संलग्न भएको आरोपमा खिमबहादुर तत्काल पक्राउ परेका हुन् । उनले मृतकको घाँटीमा खुकुरीले प्रहार गरेका थिए ।

घटनाको अनुसन्धान गर्न नेर्पास्थित प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक दिवस हिताङको नेतृत्वमा ४ जना र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा थप ६ जना गरी १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । थुम्का स्थानीय काउलाबोट गाउँदेखि नजिकै पर्छ ।

खिमबहादुरको परिवार केही वर्ष अघि माडी र सुकीदह(गंगादेवको सिमानामा पर्ने ओतगाउँबाट बसाइँसराइ गरेर त्यहाँ आएको स्थानीयले जनाएका छन् ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्