तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास नगर कमिटी तनहुँले सर्वत्र विवादित र आलोचित जग्गा खरिद नगरिकन विकल्पमा जान व्यास नगरपालिकालाई अपिल गरेको छ । साे कमिटीले नगरपालिकामा पछिल्लो समय देखिएको विवादलाई सुल्झाउन आग्रह गरेको छ ।
नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डेद्धारा जारी विज्ञप्तिमा भ्रष्ट्राचार र अन्य विकृतिलाई निराकरण गर्न व्यास नगरपालिका लाग्न जोडदार माग गरिएकाे छ । अध्यक्ष पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाको बारेमा विगत दुई सातादेखि चलिरहेको चर्चा परिचर्चा प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएकाे छ ।
सरसफाई व्यवस्थापन जस्तो गम्भिर विषयको लामो समयसम्म व्यवस्थापन नहुनु, हरेक पटक केही गर्न लाएको जस्तो देखिनु तर परिणाम शुन्य हुनु, जग्गा खरिदको विषय स्वार्थ केन्द्रीत हुनु, यस्तो संवेदनशील विषयमा जनप्रतिनिधि र कर्मचारी विभाजित हुनु गम्भिर विषय हो भनिएकोछ । साथै विज्ञप्तिमा तनहुँको सदरमुकाम दमौलीमा रहेको महर्षी ऋषिको नामबाट स्थापित व्यास नगरपालिका विकासको गतिमा जसरी अगाडी बढ्नुपर्ने हो त्यसरी बढ्न नसकिरहेकोमा नगरवासीहरुको चिन्ता र चासो सधैं यथावत रहेको छ भनिएको छ ।
‘नगरलाई स्वस्थ र स्वच्छ राख्नु व्यास नगरपालिकाको दायित्व हो । सरसफाई व्यवस्थापनलाई अधुरो राखेर अरु जतिसुकै विकासका काम गरेपनि नगर स्वच्छ र नगरबासी स्वस्थ हुन सक्दैनन् । नगरबासीको सबैभन्दा चासो र सरोकार रहेको सरसफाई व्यवस्थापन यथाशिघ्र गर्नुपर्ने नगरपालिकाको जिम्मेवारी हो । यस्तो समयमा समस्या समधानको लागि नग रपालिकाका जनप्रतिनिधि, कर्मचारी र राजनितीक दल एक ठाउँमा उभिएर समस्या समधान गर्न लाग्नु पर्नेमा सरसफाई व्यवस्थापन सम्बन्धमा अडियो रेकर्ड मार्फत एक राजनितीक दलका प्रमुख, व्यास नगरपालिकाका केही जिम्मेवार कर्मचारीबाट प्रस्तुत अभिव्यक्ति अत्यन्तै लज्जाजनक, सामाजिक रुपमा अपाच्य भएको हामीले महशुस गरेका छौं ।’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तो अवस्थामा व्यास नगरपालिकाको नेतृत्वले अडियोमा संलग्नहरुलाई छानविन समिति बनाइ कारवाहीको दायरामा ल्याउन एमालेले माग गरेकाे छ । समयसमयमा आएका भ्रष्ट्राचार लगायत अन्य विकृतिजन्य विषयलाई पनि निराकरण गर्न व्यास नगरपालिका लागोस भन्ने जोडदार माग गर्दै एमालेले सरसफाई व्यवस्थापनसँग जोडिएको हाल चर्चामा रहेको जग्गा सर्वत्र विवादित र आलोचित भएको हुँदा व्यास नगरपालिकाले यसलाई छोडेर सर्वदलिय संयन्त्रको माध्यमबाट छिटो भन्दा छिटो अर्को विकल्पमा जानका लागि पनि अपिल गरेकाे छ ।
नगरपालिकाको गतिविधिलाई नजिकबाट नियालेर सही वा गलत छुट्याउने दायित्व हरेक नगरबासीको हो भन्दै आम नगरबासीको प्रतिनिधित्व गर्दै अहिले भईरहेका चर्चा परिचर्चासँग जोडिएको फोहरमैला व्यवस्थापन सम्बन्धी विषयलाई टुलुटुलु हेरेर बस्न नसक्ने निष्कर्षका साथ व्यास नगरपालिकासँग समस्या समधानका लागि विज्ञप्ती मार्फत जोडदार माग गरेकाे अध्यक्ष पाण्डेद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।








