तनहुँ । तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक महोत्सवमा आज शनिवार ख्यातिप्राप्त गायिका तनहुँकै चेली प्रिती आले आउने भएकी छन् । सनिवार बिदाको दिनमा दर्शकको उपस्थिति बाक्लो हुने र प्रितीको उपस्थितिले झनै दर्शक बढ्ने अपेक्षा गरिएको छ । प्रिती सँगै गोजिमा दाम छैनका गायक राजन राज शिवाकोटी सहितका चर्चित कलाकारहरू आउने कलाकार संयोजक सुनिल श्रेष्ठले बताए । महोत्सवमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकार आउने र त्यसले दर्शकले भरपुर मनोरञ्जन लिन पाउने श्रेष्ठले बताए ।
व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ को पुल्चोकमा भइरहेको छ ।
महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ ।
महोत्सवमा याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयोजकले निः शुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाको लाभ लिएका छन् । याम्पा दूध र तरकारीको हब हो , त्यहाँका उत्पादनलाई बजारीकरण गर्न महोत्सवले सघाउने गरि व्यवस्थापन मिलाएका छौँ महोत्सवका प्रवक्ता सुवोध अधिकारीले भने ।
यस्तै महोत्सवमा बाख्राको चिज समेत ग्राहकलाई निः शुल्क खान व्यवस्था गरिएको महोत्सव स्टल समिति संयोजक राम जोशीेले बताए ।








