डुम्रे महोत्सवमा आइतबार हमाल , शाही र राना आउने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ / तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक महोत्सवमा आज आइतबार राष्ट्रिय कलाकारहरू शिव हमाल , सुस्मा शाही ठकुरी र सन्जिव सिंह राना लगायत आउने भएका छन् । राष्ट्रिय कलाकार सँगै गंगा श्रेष्ठ , सन्तोष भुसाल लगायतका स्थानीय कलाकार आउने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले बताए ।महोत्सवमा हरेकदिन ख्यातिप्राप्त कलाकार आएपछी दर्शकको चाप पनि दिनदिनै बढेको छ । सनिवार महोत्सवमा अहिलेसम्मकै ठुलो भिड लागेको थियो । गायिका प्रिति आले , सिम्रन परियार , राजन राज शिवाकोटी लगायतका कलाकारको प्रस्तुतिमा दर्शकहरूले भरपुर मनोरञ्जन लिएको संयोजक श्रेष्ठले जानकारी दिए । महोत्सवमा दोहोरी गीत प्रतियोगिता समेत सुरु गरिएको छ ।

आयोजकले महोत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशको व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् । महोत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयोजकले प्रवेश पास समेत निः शुल्क व्यवस्था मिलाएको हो । यस्तै महोत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निः शुल्क गरिएको महोत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महोत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थालाई पनि एक हजार भन्दा बढी निशुल्क पास छुट्याइएको पियाले जानकारी दिए ।
महोत्सवमा थप मनोरञ्जन दिन आयोजकले चुँदि खोलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्ने व्यवस्था समेत मिलाएको छ । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूको लागि राखिएको छ । डुङ्गामा चढ्नेहरू सँग प्रतिव्यक्ति एकसय रूपयाँ लाग्ने हिमालयन रिभरका सन्त लामाले बताए । महोत्सवमा डुङ्गामा मनोरञ्जन गर्न पाइने भए पछि दर्शकहरू त्यसतर्फ आकर्षित हुन थालेका छन् । सनिवार रमाइलो मेलामा , डुङ्गामा , स्टलमा समेत दर्शकको भिड लागेको थियोे ।

व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ को पुल्चोकमा भइरहेको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ ।

महोत्सवमा याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयोजकले निशुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाको लाभ लिएका छन् । याम्पा दूध र तरकारीको हब हो , त्यहाँका उत्पादनलाई बजारीकरण गर्न महोत्सवले सघाउने गरि व्यवस्थापन मिलाएका छौँ महोत्सवका प्रवक्ता सुवोध अधिकारीले भने ।

यस्तै महोत्सवमा बाख्राको चिज समेत ग्राहकलाई निशुल्क खान व्यवस्था गरिएको महोत्सव स्टल समिति संयोजक राम जोशीेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्