तस्विरः सांकेतिक
दुलेगौाडा । तनहुँको म्याग्दे गाउँपालिका, भिमाद, र शुक्लागण्डकी नगरपालिकाको संगम स्थल दोभानमा निर्माण गरिएको आधुनिक शवदाह मेसिनको सफल परिक्षण गरिएको छ ।
शुक्लागण्डकी नगरपालिका सहित विभिन्न पालिका,उपभोक्ता र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको आर्थिक सहयोगमा निर्माण गरिएको शव दाह मेसिनको शुक्रबार एक महिलाको शव जलाएर सफल परिक्षण गरिएको नगरपालिकाले जनाएको छ ।
भृगु त्रिवेणी धाम शवदाह स्थल निर्माण तथा संरक्षण संस्थाले निर्माण गरेको उक्त मेसिन मार्फत शव अन्यष्टी गर्दा वातावरण मैत्री र विभिन्न विपतमा समेत प्रभावकारी हुने सस्थाका अध्यक्ष गोपी तिवारीले जानकारी दिनुभयो । परम्परागत पद्धतीबाट भन्दाआधुनिक पद्धती अनुसार मेसिनबाट शव जलाउदाँ शव पूर्ण रुपमा जल्ने, सुरक्षित तरिकाले अत्यष्टी गर्न सकिने लगायतको फाइदा रहेको उहाँले बताउनुभयो ।
करिव २७ लाख बढी लागतमा ग्रिनटेक प्रा.लि. संस्था मार्फत खरिद गरि शवदाह मेसिन जडान गरिएको हो । मेसिनले करिव ३ घण्टामा शवलाई पूर्ण रुपमा अन्त्य गर्ने संस्थाका सचिव नारायण दत्त अधिकारीले बताउनुभयो ।अधिकारीले मेसिनमा शव जलाउन दाउराको प्रयोग गरिने र धुवालाई समेत प्रशोधन गरेर चिम्नी मार्फत बाहिर पठाउने भएकाले वातारणमा कुनै असर नपर्ने, घाट छेउछेउ बसोबास गर्नेहरुको गुनासो सम्बोधन हुने विस्वास ब्यक्त गर्नुभयो । उहाँले धाम परिसरलाई थप ब्यवस्थित बनाउन पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । यहाँ शुक्लागण्डकी सहित म्याग्दे, भिमाद र हरिनासका स्थानीयहरुले परम्परागत रुपमा शव अन्त्यष्टी गर्ने गरेका छन् ।








