१४ जिल्लाका प्रहरी प्रमुख फेरिँदा कोही तेहेरिए, एक ठाउँमा असफल भएकोलाई अर्को ठाउँ पठाइयो

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सरुवा मापदण्डविपरित केही डीएसपीलाई दोहोर्‍याई–तेहेर्‍याई कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।
बुधबार राति प्रकाशित सरुवा सूचीअनुसार १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा हुँदा १४ जिल्लामा कार्यालय प्रमुख हेरफेर भएका छन् । कतिपय जिल्लामा कार्यालय प्रमुखका रुपमा खटाइएका डीएसपीले यसअघि सोही दर्जामा पटक पटक कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
डीएसपी दर्जामा ‘क’ श्रेणीका दुई कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका मनोजित कुँवर बुधबारको सरुवामा फेरि सोलुखुम्बु सरुवा भएका छन् । त्यहाँका प्रमुख द्वारिकाप्रसाद घिमिरे सरुवा भएपछि कुँवर खटाइएका हुन् ।
‘क’ श्रेणीकै इप्रका मानिने सिराहास्थित लाहानको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका भोलाकुमार भट्टले फेरि रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । त्यहाँका डीएसपी प्रदिपकुमार सिंह सरुवा भएर प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालय महाशाखा गएका छन् ।
बाजुरा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा कार्यसम्पादनमा गम्भीर प्रश्न उठेपछि हटाइएका डीएसपीलाई यो सरुवामा अर्को जिल्लाको जिम्मेवारी दिइएको छ ।
२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा बाजुराको बूढीगंगा गाउँपालिकाको निर्वाचनका क्रममा केही जिल्लामा कांग्रेस र एमालेका कार्यकर्ताले बुथ कब्जा गरेपछि जिल्ला प्रहरी कमाण्ड फितलो भएको निश्कर्षसहित डीएसपी सूर्यबहादुर थापा जिम्मेवारीबाट फिर्ता गरिएका थिए ।
उनले बुधबारको सरुवामा म्याग्दी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । त्यहाँका डीएसपी भरत श्रेष्ठ प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख भरत लामालाई सरुवा गरेर वीरेन्द्रबीर विश्वकर्मालाई प्रमुखको जिम्मेवारी दिइएको छ । लामा नेपाल पश्चिम नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहामा खटाइएका छन् ।
ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्का सरुवा हुँदा मदन के.सी.ले जिम्मेवारी पाएका छन् । जुम्लाका प्रमुख छेदीलाल कामतीलाई सरुवा हुँदा रवीनबाबु रेग्मीलाई त्यहाँको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीको सरुवा भएर इकबाल हवारीले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख नरेशकुमार सिंहलाई सरुवा गरेर हरिप्रसाद पौडेललाई प्रमुखको जिम्मेवारी दिदाँ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेलाई सरुवा गरेर बसन्तकुमार शर्मालाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमका प्रमुख माधवराज खरेलको सरुवा गरेर उमाशंकरप्रसाद यादवलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रवि रावललाई सरुवा गरेर वेदप्रसाद गौतमलाई प्रमुखको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालको सरुवा गरेर गणेशबहादुर बराललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख सुर्यबहादुर बोगटीको सरुवा गरेर छिरिङकिप्पा लामालाई प्रमुखको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख हरिकृष्ण केसीको सरुवा गरेर डा. हेमबहादुर के.सी. लाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्