
पाेखरा । साढे चार दशकदेखि बस्दै आएको ऐलानी जग्गा अर्कै व्यक्तिले दर्ता गरेर त्यसमा बनेका घर संरचनाहरु हटाउन लागेको भन्दै पोखराका भूमिहिन सुकुम्बासीहरुले विरोध गरेका छन् । पोखरा वडा नं ९ पुरानो बसपार्क शिवटोलका भूमिहिन तथा अव्यवस्थितहरुलाई वडा कार्यालयले ३५ दिन भित्र घरजग्गा खाली गर्न भन्दै सूचना जारी गरेको छ । उनीहरुले विरोध स्वरुप सोमबार महानगरमा माग पत्र बुझाएका छन् ।
शिवटोलमा विस २०३६ सालदेखि ऐलानी जग्गामा बस्दै आएका ४६ घरधुरीहरु प्रत्यक्ष प्रभावित हुने उनीहरुको दावी छ । ती घरजग्गा भएको ठाँउ पोखराकै विभिन्न व्यक्तिका नाममा दर्ता भएको बताइएको छ । महानगरको वडा नं ९ कार्यालयले बैशाख २ गते ती जग्गामा बसोबास गरिरहेका भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई ३५ दिनभित्र संरचना हटाइ खाली गर्न सूचना गरेको थियो ।
वडा कार्यालयको सूचनाबाट आफूहरु अन्यायमा परेको उनीहरुको भनाइ छ । सोमबार महानगर प्रमूख धनराज आचार्यलाई मागपत्र बुझाउँदै भूमि अधिकारकर्मी राम लामिछानेले जग्गा सुकुम्बासीहरुलाई हटाउने सूचना बदर गर्न वडालाई निर्देशन दिन आग्रह गरेका छन् ।
लामो समयदेखि बस्दै आएको ऐलानी जग्गा विभिन्न व्यक्तिले जालझेल गरेर दर्ता गरेको भन्दै बदर गर्न समेत उनीहरुले माग गरेका छन् । २०३६ सालदेखि बसोबास गर्दै आएका कारण जग्गाधनी प्रमाणपत्रसहितको व्यवस्थापन हुनु पर्न उनीहरुको माग छ । मागपत्रमा उनीहरुले पोखरा नगरपंचायत, महानगरपालिका तथा भूमि समस्या समाधान आयोगहरुले दिएका विभिन्न सिफारिश र निश्शासहित अन्य प्रमाण समेत पेश गरेका छन् ।
मागपत्र बुझ्दै महानगर प्रमूख आचार्यले थप अध्ययन गरेर समास्या समाधान गर्ने प्रतिवद्धता गरेका छन् । यस अघि ती ४२ घरधुरीसहितको प्रतिनिधि मण्डलले भूमि समस्या समाधान आयोग कास्कीलाई वडा नं ९ दारा जारी सो सूचना बदर गर्न माग गर्दै पत्र बुझाइसकेका छन् ।
यस्ताे छ मागपत्रः