एकजुट हुदै राजावादीले भने जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्छौ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । राजावादी शक्तिहरूले राजसंस्था पुनस्स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् । आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म नटुंगिने उनीहरूको निर्णय छ ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज एक कार्यक्रम गरी संयुक्त आन्दोलनको घोषणा गरेको हो । यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहनेछन् ।
यो आन्दोलनमा बाह्य शक्तिहरुको संलग्नता नरहने सुबेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरु गर्न उनले अपिल गरेका छन् । आन्दोलनलाई सफल तुल्याउन प्रत्येक जिल्ला, पालिका तथा वडाहरुमा संयुक्त जनआन्दोलन समिति गठन गर्न उनको प्रस्ताव छ ।
‘यो आन्दोलन नेपाली जनताका लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुने छ,’ विज्ञप्तिमा भनिएको छ ।
राजावादीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना र संघीयता खारेजीका तीन प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्