एमाले युवा संघमा अध्यक्षका तीन आकांक्षीः प्रतिस्पर्धामा अंकुश लगाउँदै एमाले

सर्वज्योति
  • ख-
  • ख+

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।
युवा संघले आगामी जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा दसौं महाधिवेशन गर्दैछ।
गत वैशाख २५ गते पोखरामा बसेको पदाधिकारी बैठकले १८ वटा उपसमिति बनाएर महाधिवेशनको तयारी गरिरहेको महासचिव सुमन पुरीले जानकारी दिए।
वैशाख मसान्तभित्र प्रतिनिधि छनोट गर्न तहगत कमिटीलाई निर्देशन दिएको महासचिव पुरीको भनाइ छ।
‘तर जेठ १ गते हाम्रो स्थापना दिवस पनि हो। त्यसदिन जिल्ला, प्रदेश आदि कमिटीले कार्यक्रम राखेर पनि प्रतिनिधि छानेर पठाउन सक्नुहुनेछ,’ पुरीले भने, ‘सामान्यतया वैशाख मसान्तभित्र प्रतिनिधि छानिसक्न भनेका छौं।’
उनका अनुसार महाधिवेशनमा १ हजार ७९२ जना प्रतिनिधि हुनेछन्। तर विभिन्न पार्टीका युवा संघ–संगठन, अन्य कमिटी परित्याग गरी राष्ट्रिय युवा संघमा आएकाहरूलाई पनि ध्यानमा राखेर प्रतिनिधि संख्या केही बढाउने समझदारी भएको उनले बताए।
यसरी बढ्दा प्रतिनिधिको संख्या १ हजार ८३४ सम्म पुग्न सक्ने उनले बताए। युवा संघको आगामी महाधिवेशनले ९ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ।
गत फागुन १८ गते बसेको एमाले सचिवालय बैठकले जनसंगठनहरूमा पदाधिकारी संख्या ९ मा सीमित गर्ने निर्णय गरेको थियो।
सोही अनुसार पार्टी केन्द्रले परिपत्र गरेको थियो। उक्त निर्देशनअनुसार युवा संघलगायत जनसंगठनहरूमा एक अध्यक्ष, महिलासहित दुई उपाध्यक्ष, एक महासचिव, एक उमहासचिव र चार सचिव राख्न पाइने छ। जसमा विदेश सचिव, संगठन सचिव, प्रचार सचिव, कोष सचिव या कोषाध्यक्षको प्रबन्ध गर्न सकिने एमालेले बताएको छ।
राष्ट्रिय युवा संघको अध्यक्षमा अहिलेसम्म तीन जना आकांक्षी छन्। एमालेभित्रको पछिल्लो शक्ति संघर्ष र नेताहरूका रूचिका कारण अरू आकांक्षी थपिन सक्ने युवा संघका एक नेताले बताए।
उनका अनुसार संगठनका उपाध्यक्ष कृष्णहरि के.सी., महाराज गुरूङले अध्यक्षमा आकांक्षा देखाएका छन्। त्यस्तै संगठनका महासचिव सुमन पुरीले पनि अध्यक्षका आकांक्षी हुन्।
पुरी युवा संघमा उपाध्यक्ष भइसकेका छन्। नेपालगञ्जमा भएको पछिल्लो महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले क्षितिज थेवेलाई अध्यक्ष बनाउन चाहेकाले उनलाई महासचिव बनाएर सर्वसम्मत नेतृत्व चयन गरिएको थियो।
अकांक्षी तीन जनामध्ये पुरी बलिया देखिएको एक पदाधिकारीले जानकारी दिए। रूपन्देहीका पुरीसँग उपाध्यक्ष विष्णु पौडेलको पनि राम्रो सम्बन्ध छ। युवा संघका विषयमा अध्यक्ष ओलीले अहिलेसम्म मुख खोलिसकेका छैनन्। तथापि पुरीप्रति ओली नकारात्मक नरहेको युवा संघका नेताहरू बताउँछन्।
अध्यक्षमा अर्का प्रत्यासी महाराज गुरूङ नाताले एमाले पोलिटब्युरो सदस्य पार्वत गुरूङका भान्जा पर्छन्। पार्वतसँगको सम्बन्धका कारण उपमहासचिव विष्णु रिमाल, भानुभक्त ढकाललगायत नेताहरू महाराजप्रति पनि सकारात्मक छन्।
एमाले पोलिटब्युरो सदस्य कर्ण थापालगायत केही नेताहरूले अर्का उपाध्यक्ष कृष्णहरि केसीलाई अध्यक्ष बनाउँदा उपयुक्त हुने तर्क पनि गरिरहेका छन्। यद्यपि केसीका पक्षमा अहिलेसम्म सानो आवाज मात्रै सुनिएको छ।
तीन जना नेताहरूकै आकांक्षा चुलिँदै जाँदा एमालेका केही नेताहरूले भने क्षितिज थेवेलाई नै दोहोर्‍याउँदा उपयुक्त हुने सुझाव पनि दिइरहेका छन्।
एमालेले पछिल्लो समय आदिवासी जनजाति समूदायभित्र आफ्नो मताधार कमजोर बन्दै गइरहेको निष्कर्ष निकालेको छ। लिम्बू समूदायमा एमालेको राम्रै उपस्थिति थियो।
पूर्वसभामुख सुवास नेम्वाङको निधन र पूर्वमन्त्री बसन्त नेम्वाङ मष्तिष्काघातका कारण हिँडडुलसमेत गर्न नसक्ने गरी थलिएपछि एमालेले लिम्बू समूदायबाट विकल्पमा नेता तयार पार्नुपर्ने अवस्थामा छ। त्यसका लागि उपयुक्त पात्र थेवे हुनसक्ने नेताहरूको बुझाइ छ।
थेवे आफैले भने सार्वजनिकरूपमा दोहोरिने इच्छा देखाएका छैनन्। गत वैशाख २१ गते ताप्लेजुङको युवा संघको जिल्ला अधिवेशनमा बोल्दै थेवेले नेतृत्वमा दोहोरिने इच्छा नरहेको बताएका थिए। उनले पार्टी, विशेषतः भूगोलमै काम गर्ने इच्छा रहेको बताएका थिए।
नेपालगञ्ज महाधिवेशनबाट अध्यक्ष चुनिएर आएपछि थेवेले सक्रियता बढाएका छन्। विभिन्न इभेन्ट (ओली कप, युथ सेलिब्रेसन लगायत) मार्फत् आफूलाई मुखर गरेको भन्दै एमाले नेताहरू थेवेको नेतृत्वप्रति खुसी नै देखिन्छन्।
युवा संघमा पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रभाव अद्यापि छ। बस्नेत समूहले अहिलेसम्म आफ्नो उम्मेदवार को हो भनेर मुख खोलिसकेको छैन।
अहिलेसम्मको अभ्यासका आधारमा हेर्दा अध्यक्ष ओलीको रूचिलाई बस्नेतले काट्न सकेका छैनन्। ओलीले थेवेलाई दोहोर्‍याउने वा पुरीलाई अघि सार्ने भनेर निचोड सुनाउँदा बस्नेत समूहको समर्थन त्यतै हुने युवा संघका नेताहरू बताउँछन्।

प्रतिस्पर्धामा अंकुश लगाउँदै एमाले
एमाले अध्यक्ष ओलीलाई पार्टीको आन्तरिक लोकतन्त्रप्रति गहिरो अरूचि देखिन्छ। उनी आफैभने प्रतिस्पर्धाबाटै पार्टी नेतृत्वमा स्थापित भएका हुन्।
अध्यक्ष ओलीकै अनिच्छाका कारण एमालेको जनसंगठनमा कतै पनि प्रतिस्पर्धा भएको छैन। सहमतिका नाममा नेताले रूचाएका र इच्छाएका व्यक्ति जनसंगठनका पदाधिकारीदेखि सदस्यसम्म चुनिएका छन्।
गत चैतमा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको १० औं अधिवेशन भएको थियो।
अध्यक्षका प्रबल दाबेदार थिए, संगठनका उपाध्यक्ष राजेश राई। तर उनलाई उम्मेदवारी दर्तासमेत गर्न नदिई अध्यक्ष मण्डलले पार्टी केन्द्रले तोकेर पठाएका नामहरू वाचन गरेर सुनायो। आफ्नो नेता चुन्न गएका प्रतिनिधि नेताले तोकेका नाम सुन्न गएझैं भए। पररर्र ताली बजाएर फर्किए।
प्रेस चौतारीको अध्यक्ष गणेश पाण्डे चुनिएका थिए। महाधिवेशनअघि प्रेस चौतारीको अध्यक्ष राईलाई बनाउने, पाण्डेलाई प्रचार विभाग सदस्य मनोनीत गर्ने नेतृत्वको बीचमा सहमति भएको थियो। तदनुरूप पाण्डे सदस्य मनोनीत भएका पनि थिए। तर शपथ खाएको एक हप्ता पनि नबित्दै अध्यक्ष ओलीकै रूचिअनुसार पाण्डेलाई प्रेस चौतारीको अध्यक्ष सर्वसम्मत बनाइयो।
निजामती कर्मचारी संगठनमा पनि त्यसै गरी नेतृत्व चुनियो। कर्मचारी संगठनको १२ औं अधिवेशनले अध्यक्षमा भवानी दाहाल निर्वाचित गरेको थियो। अध्यक्षमा संगठनमा लामो समय काम गरेका रेवन्त गौतमले दाबी गरेका थिए। उनलाई पनि उम्मेदवार दर्तासम्म गर्न नदिएर सर्वसम्मतका नाममा गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाएर कमिटी घोषणा गरियो।
त्यही अवस्था प्रगतिशील प्राध्यापक संगठनको ११ औं सम्मेलनमा पनि देखियो। अध्यक्ष मण्डलले उनलाई पनि उम्मेदवारी दर्ता नै गर्न नदिई मध्यरात पद्मप्रसाद खतिवडाको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति घोषणा गर्‍यो।
फागुन यता १० वटा जनसंगठनका अधिवेशन भएका छन्। यी कतैमा पनि चुनाव भएनन्। सहमतिका नाममा नेताहरूको छनोटमा परेकाहरूको सूची सुनाइयो।
यसबीचमा मानव अधिकार एलाइन्स, नेपाल उद्योग तथा व्यवसाय महासंघ, प्रेस चौतारी, प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन, रिटर्नी फेडेरेसन, लोकतान्त्रिक अपांगता संगठन, नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल मुस्लिम इत्तेहाद संघ, भूमि अधिकार तथा श्रमिक संगठनको राष्ट्रिय अधिवेशन भएका छन्। युवा संघको अधिवेशनअघि बुद्धिजीवी परिषद्, नेपाल उत्पीडित जातीय मुक्ति समाजको अधिवेशन हुँदैछ। यी दुई अधिवेशनमा पनि प्रतिस्पर्धा हुने सम्भावना क्षीण छ।
‘पार्टीभित्र प्रतिस्पर्धालाई निषेध गर्ने नेताहरूको चाहनाको जनसंगठनमा सफल प्रयोग भइरहेको छ। त्यसकारण राष्ट्रिय युवा संघ, अनेरास्ववियुमा पनि सहमतिका नाममा नेताहरूले सूची पढे भने अनौठो हुनेछैन,’ एमालेका एक नेताले भने।
साभारः सेतापाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?