काठमाडौं, जेठ १३ — नेपाल डेरी एसोसिएसनको आयोजनामा तथा राष्ट्रिय दुग्ध विकास बोर्डसहित विभिन्न सरोकारवाला निकायहरूको सहकार्यमा “दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं” भन्ने मूल नाराका साथ उपत्यकास्तरीय अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम बुढानिलकण्ठ नगरपालिका–९ स्थित ब्रेन ल्याण्ड एकेडेमी स्कूलको सभा हलमा सम्पन्न भयो।
कार्यक्रममा उपत्यकाका १८ सामुदायिक तथा संस्थागत विद्यालयबाट ३६ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। उनीहरूले दुध तथा दुग्धजन्य पदार्थको सामाजिक, आर्थिक र पोषणसम्बन्धी महत्वका पक्षहरू कवितामार्फत प्रस्तुत गरे। धेरै कविताहरूमा कृषि प्रधान देश नेपालमा पशुपालनको महत्व, कृषिमा बढ्दो परनिर्भरताको व्यङ्ग्यात्मक चित्रण, र दुग्ध उत्पादनलाई मानव सभ्यताको अभिन्न अंगको रूपमा उजागर गरिएको थियो।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश सभाका माननीय जयराम थापाको प्रमुख आतिथ्य रहेको थियो। विशेष अतिथिका रूपमा प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका सदस्य डा। दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र प्रसाद यादव, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्की, नेपाल पाउरोटी संघका अध्यक्ष कमल अधिकारी, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रमेश सञ्जेलले स्वागत मन्तव्य दिँदै सहभागी अतिथिहरूलाई स्वागत गरे। सो अवसरमा केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसन विगत १२ वर्षदेखि दुग्धजन्य पदार्थको व्यवसायिक प्रवर्द्धनमा सक्रिय रहेको र मोही लगायतका मौलिक उत्पादनहरूलाई अगाडि बढाउन क्रियाशील रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि जयराम थापाले दुधलाई पूर्ण पोषणयुक्त आहारको रूपमा वर्णन गर्दै दुग्ध उद्योगले देशको अर्थतन्त्रमा योगदान पुर्याएको उल्लेख गरे। प्रदेश सरकारले कृषिसम्बन्धी योजनाहरूमा साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा डा। दिपेन्द्र श्रेष्ठले विद्यालयस्तरमै सचेतना फैलाउन सकिएमा नीति निर्माणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे भने डा। राजेन्द्र यादवले कविता मार्फत बालबालिकाले दिएको सन्देश भावी पुस्तालाई सशक्त मार्गदर्शन बन्ने बताए।
कविता प्रतियोगितामा इन्टरनेशनल जोसेफ पब्लिक स्कूलकी छात्रा भावना बराल प्रथम, सेन्ट जर्ज स्कुलका आर्यन शाही द्वितीय, युरेका हाई स्कुलकी जेसिका थापा तृतीय र दिव्यज्ञान उच्च माध्यमिक विद्यालयकी सभ्यता कार्की तथा पिक पाइन्ट एकेडेमीकी प्रान्शु रावत सान्त्वना विजेता घोषित भए। उनीहरूलाई नगद, प्रमाणपत्र, मेडल, शिल्ड तथा दुग्धजन्य वस्तुहरू प्रदान गरिएको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा साना बालबालिकालाई अतिथिहरूद्वारा दूध पान गराएर उद्घाटन गरिएको थियो। कार्यक्रममा उपस्थित सबैलाई दुग्धजन्य पदार्थ वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रमिला खतिवडाले गरेकी थिइन् भने मूल्यांकन समितिमा कवि सरोज ओझा र साहित्यकार राधिका कल्पित रहेका थिए।
कार्यक्रम एसोसिएसनले सातै प्रदेश र २५ जिल्लामा विश्व दुग्ध दिवस मनाउने सन्देश दिइसकेको र जेठ १६ गते तारकेश्वर–७ स्थित रोजमेरी आइडल स्कूलमा करिब १,००० विद्यार्थीलाई निःशुल्क दूध वितरण गरिने जानकारी पनि संयोजक सञ्जेलले दिए।
कार्यक्रममा नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ कपन, सौर्य सोसाइटी फर च्यान्ज, युनिप इन्टरनेशनल, स्याट ९निजी विद्यालय संगठन०, नवप्रभात डेरी, सिडिक्यान, डिआइए, पशुसेवा विभाग, बागमती दुग्ध विकास बोर्डलगायत विभिन्न निकायहरूको सहकार्य रहेको नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमलाले जानकारी गराए।








