भूमिहिन सुकुम्बासीहरुले अब वडा वडाबाट आन्दाेलन शुरु गर्ने

सर्वज्योति
  • ख-
  • ख+

पाेखरा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला समिति कास्कीले भूमिहिन तथा अव्यवस्थित बसाेबासीहरुका लागि पाेखरामा अभिमुखिकरण कार्यक्रम संचालन गरेकाे छ । शुक्रबारदेखि दुई दिनसम्म चल्ने भूमि अधिकारका लागि वकालतीय तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले विभिन्न विषयमा छलफल र जानकारी लिने आयाेजकले बताएकाे छ ।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष ल्यामबहादुर दर्जीले कार्यक्रममा सहभागीहरुलाई सहजीकरण गरेका थिए । केन्द्रीय अध्यक्ष दर्जीले भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसाेबासीहरुले अब वडा वडाबाट आन्दाेलनकाे शुरुवात गर्ने बताए । सुकुम्बासीका समस्याबारे वडाहरुलाई कुनै मतलब नभएका कारण यस्ताे कदम चाल्न पर्ने अवस्था आएकाे उनकाे भनाइ छ ।

मञ्चकाे कास्की जिल्ला अध्यक्ष प्रेम गुरुङले आगामी दिनमा भूमि याेजना बनाएर अगाडि बढ्नु पर्नेमा जाेड दिएका थिए । कार्यक्रमकाे अध्यक्षता समेत गरेका गुरुङले प्रशिक्षणमा सिकेका कुराहरु टाेलटाेलमा गएर अरुलाई पनि सिकाउन सहभागीलाई सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै मञ्चकाे गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछानेले सबै भूमिहिन तथा अव्यवस्थित बसाेबासीहरु एकतावद्ध भएर आवाज उठाउन आवश्यक रहेकाे बताए ।

मञ्चकी केन्द्रीय सदस्य कन्या गुरुङले आफ्नाे संस्थाले काेही पनि भूमिहिनलाई उठिबास र बिचल्ली हुन नदिएकाे बताइन् । बास भए गाँस जुटाउन सकिने भएकाेले राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले साेही अनुरुप काम गरिरहेकाे उनकाे भनाइ थियाे ।

मञ्चका पूर्व केन्द्रीय सदस्य आशबहादुर गुरुङले तालिमबाट धेरै कुरा बुझ्न सजिलाे हुने भएकाले यसमा सहभागी हुने अवसर नगुमाउन आग्रह गरे । उनले मञ्च दवावमुलक संस्था भएका कारण राष्ट्रीय भूमि समस्या आयाेग लगायतले समन्वय गरेर काम गर्ने समेत बताए ।

यसअघि मञ्चले जेठ ८ गते भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका बारेमा कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया कार्यक्रम गरेकाे थियाे ।

पाेखराकाे पृथ्वीचोक बसपार्कको जग्गामा विस २०३६ सालदेखि बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन महानगरकाे वडा नं  ९ कार्यालयले बैशाख २ गते सूचना जारी गरेपछि  उनीहरुले विभिन्न निकायमा मागपत्र बुझाएका थिए ।

पृथ्वीचोकको जग्गा खाली गर्ने सूचना जारी भएको ३५ औं दिनमा पोखरामा आयोजित साे कार्यक्रममा भने विभिन्न दलका नेताहरुले सुकुम्बासी समस्या समाधानका लागि प्रतिवद्धता गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?