
गण्डकी प्रदेश, तनहुँ जिल्लाको मुटु सदरमुकाममा अवस्थित व्यास नगरपालिका यस जिल्लाको जेठो र शैक्षिक केन्द्रको रुपमा रहेको नगरपालिका हो । यस नगरपालिकाको भौगोलिक अवस्थितिलाई लिदा मादी र सेती नदीका किनारा देखि उच्च चुचुरो तनहुँसुर समेतका स्थान समाहित भएको स्वजिल्लाका भानु, बन्दिपुर,शुक्ला, म्याग्दे, ऋषिङ् र देवघाट पालिकाहरु तथा छिमेकी कास्की र लमजुङ् जिल्ला समेतमा सिमाना जोडिएर रहेको छ । यसको क्षेत्रफल २४८ वर्ग किलोमिटर र समुद्रको सतह देखिको उचाइ २८० मिटरदेखि १२४५ मिटरसम्म रहेको छ । हावापानीका हिसावले समशितोष्ण र उष्णको मिश्रित रुपमा रहेको तथा जाडोमा अति जाडो र गर्मीमा प्रचण्ड गर्मी भई करिव ४० डिग्री सेल्सियस सम्म पुग्ने गर्दछ । कुहिरोले ढाकिने स्थानको रुपमा अधिराज्यभर प्रख्यात रहेको छ । जातिगत हिसावले ब्राम्हण, क्षेत्री, ठकुरी, मगर नेवार, दरै, गुरुङ्, वोटे, कुमाल, कुसुण्डा, दमाई, सार्की, कामी, मुसल्मान, चेपाङ् समेतका जातजातिको बसोवास यस पालिका क्षेत्रमा रहेको छ ।
जनसंख्याको हिसावमा वि.सं २०७८को जनगणनाका अनुसार ७८,९३९ जना र जनघनत्व करिव ३१९ जना रहेको तथा स्कूल जाने उमेरका जनसंख्या १९,४०० रहेको देखिन्छ । शैक्षिक सत्र २०८० को यस न.पा.को तथ्याङ्क अनुसार सामुदायिक विद्यालय तर्फ १२,५८४ र संस्थागत विद्यालय तर्फ १०९०२ गरी २३,४८६ संख्यामा विद्यार्थी रहेको देखिन्छ । त्यस्तै सामुदायिक विद्यालयको संख्या ८१ मा शिक्षक संख्या ७२४ र सस्थागत विद्यालय ४५ र शिक्षक संख्या करिव ६५० जना रहेको देखिन आउँछ । भौगोलिक अवस्थिति र विद्यालयको निकटताको विषयलाई लिएर हेर्दा विना कुनै नक्साङ्कनका आधारमा जथाभावि खुली सञ्चालनमा रहेका छन् । कुनै वडामा टोलै विच्छे तथा एक र अर्काे विद्यालयको भवन जोडिएको ्एवम् ती विद्यालयहरुमा आवश्यक विद्यार्थी संख्याको अभावमा न्यून संख्या राखी पठनपाठन गराइएको तथा विद्यार्थीको खोजीमा अन्य भौतारिएर आवश्यक भन्दा बढी यातायातका साधानको प्रयोग भएर अश्वस्थ प्रतिस्पर्धा भई विकृत वातावरण समेत बन्नपुगेको अवस्था छ । यति सम्मकी सरकारी विद्यालयले समेत निजीवाहनमा सोही न.पा.का अन्य विद्यालयका विद्यार्थी ल्याएर कुनै विद्यालय चलाउनका लागि यातायातका साधनको माग गरिएको आवस्था छ । विद्यालयगत विद्यार्थी संख्या लिदा ५० भन्दा कम संख्यामा विद्यार्थी रहेका विद्यालय संख्या ३७ रहेको देखिन्छ । माध्यमिक विद्यालय तर्फ कूल विद्यार्थी संख्या ३०० भन्दा कम भएका विद्यालय संख्या १७ रहेको देखिन्छ । स्वभाविक विद्यार्थी संख्या भएका माध्यमिक विद्यालयको संख्या १० र अन्य विद्यालय १७ गरी जम्मा २७ तथ्याङ्कले देखाउँछ । निकटताका हिसावले अनावश्यक विद्यालयको संख्या पनि उल्लेख्य रहेको छ । त्यस्तै संस्थागत विद्यालयका पक्षमा विचार गर्दा १०० भन्दा कम संख्यामा विद्यार्थी भएका विद्यालयको संङ्ख्या करिव १० देखिन्छ । मा. वि. कक्षा सञ्चालन भएका विद्यालयहरुमा पनि विद्यार्थी संङ्ख्या अत्यन्त न्यून रहेको अवस्था देखिन आउँछ । यो हो यस व्यास न.पाको शैक्षिक तथ्याङ्ककको वास्तविकता । भौतिक पूर्वाधार पक्ष पनि अधिकस्तर संङख्याका विद्यालयको न्यूनतम सुविधा समेत नभई चलेकाले सन्तोषजनक छैन । हाम्रो नगरपालिकाको यो शैक्षिक अवस्था भनेको दुरावस्था नै हो । यसबाट मुक्त हुनका लागि केही कठिन, अप्रिय र सहासिक कदम चाल्नु आजको अपरिहार्य आवश्यकता हो भन्न सकिन्छ ।
विश्वव्यापी मान्यता अनुसार एउटा विद्याललय स्थापना र सञ्चालनका लागि पर्याप्त पूर्वाधार अनिवार्य हुनपर्छ । जसमा आवश्यता अनुसार कक्षाकोठा, पुस्तकालय र वाचनालय, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, कार्यालय कक्ष, स्टाफकक्ष, आधुनिक सुविधायुक्त मिटिङ् हल सहितको उपयुक्त भवन हुनुपार्छ । यसका साथै पर्याप्त स्वच्छ खानेपानी, सफा शौचालय, चमेनागृह, प्राथमिक उपचार कक्ष पनि अनिवार्य आवश्यकतामा पर्छन् साथै यस अन्र्तगत छात्रावास समेत पर्दछ । यी सुविधाका अतिरिक्त पर्याप्त खेलमैदान, पुष्पवाटिका, वगैँचा, यातायातका साधनका लागि पार्किङ हलको व्यवस्था भएको समेत हुनु आवश्यक हुन्छ । हाताबन्ध सहितको विद्यालय क्षेत्रमा सफा सुग्घर, स्निनिग्ध, शान्त र सुरम्य वातावरण प्रत्येक विद्यालयमा बनाइनु पर्छ । यस विषयमा संस्थागत विद्यालय संञ्चालनका लागि विशेष विचारणीय रुपमा लिई र यसमा राज्यले कडाईका साथ कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ । सस्थागत विद्यालय सञ्चालनको अनुमति दिँदा यस विषयहरुमा विशेष विचार गरेर मात्र स्वीकृति दिनुपर्ने हुंन्छ । संस्थागत विद्यालयले एउटा व्यवसायिक कम्पनी भएकाले कर तिर्ने उचित व्यवस्था समेत गरिनुपर्छ ।
शिक्षामा प्रभाव पार्ने तत्वहरुमा समाजिक, मनोवैज्ञानिक, प्राविधिक तथा अन्य समसामयिक विषयहरु हुने गर्दछन् । ती तत्वहरुको विचार गरेर समाजलाई र युगको आवश्यकतालाई विचार गरी शिक्षा नीति बनाउनु पर्ने वास्तविकतालाई लिदा पनि भौगोलिक नक्साङ्कन र मानव बस्तीको क्षेत्राङ्कन तथा जनसंख्याको अवस्थिति र घनत्वलाई मध्यनजर गरी शैक्षिक संस्थाहरु स्थापना र सञ्चालन गरिनु व्यवहारिकता हुनजान्छ । नेपाल भारत समेतका एसियाली देशहरुमा वेलायती शिक्षााविद् थोमस व्याविङ्टन म्याकलेले प्रयोगमा ल्याएको शिक्षा प्रणाली र सोही अनुसारको नीतिगत उद्देश्यमा शिक्षा व्यवहारिक, प्राविधिक र जीवनोपयोगी हुनुपर्नेमा जोड दिएको पाइन्छ । यस शिक्षा प्रणालीले देशको मौलिक शिक्षा प्रणाली र परम्परागत रुपमा रहेका संस्कृत शिक्षा, नैतिक शिक्षा सहितका गुरुकुल शिक्षाको विनास गरेर पूर्वीयदर्शन र शिक्षामा नकारात्मक असर पारेतापनि शिक्षाको भौतिक पक्ष सकारात्मक नै रहेको परिप्रेक्षमा उनका यी भौतिक पक्षको ग्रहण गरी लागुगर्दा शैक्षिक क्षेत्रमा सुधारहुने नै हुन्छ । सोही नीतिको शिक्षा हालसम्म पनि हाम्रो देशमा प्रभावित छ नै । त्यसको प्रमुख उद्देश्य शिक्षा व्यवहारिक र जीवनका आवश्यकता पुरागर्ने विषयलाई विशेष जोड दिएको वास्तविकतालाई लिदा पनि हालको हाम्रो देशको शिक्षा व्यवहारिक र जीवनोपयोगी बन्न सकिराखेको छैन त्यसमा पनि अव्यवस्थित भई केवल औपचाकि रुपमा थोरै विद्यार्थी संङ्ख्या, काम चलाउ शिक्षक, भौतिक पूर्वाधारको कमी, प्रविधि मैत्रीको अभाव आदि भएको अवस्थामा शिक्षाको लक्षित उद्देश्य हाँसिल गर्न नसकिने कटु सत्यतालाई निराकरण गर्न उचित व्यवस्थानका लागि शैक्षिक सरचनामा आमूल परिवर्तन गर्नु आजको आवश्यक हो । सोका लागि हाम्रो व्यास न.पा.ले यी कदम चाल्नु व्यवहारिक र अपरिहार्य देखिन्छ ।
त्यस्तै विद्यालयमा विद्यार्थी र शिक्षकको संख्या तथा अन्य व्यवस्थामा एउटा प्राथमिक विद्यालयमा कम्तीमा प्रति कक्षा ३० का दरले २५० सख्यामा विद्यार्थी नघट्ने गरी हुनुपर्ने, त्यस्तै आधारभूत विद्यालयमा सोहीदरले ४०० सङ्ख्या, मा.वि १० सम्म सञ्चालन भएका विद्यालयमा ५०० र १२ सम्म सञ्चालन भएकोमा १००० संङ्ख्यामा विद्यार्थीलाई आधार मानेर विद्यालय सञ्चालन हुने व्यवस्था कायम गरिनु उपयुक्त हुन्छ । यो विचार अगाडि ल्याइरहँदा कहिकतै हास्यस्पद र अतिसयोक्ति तथा उरण्ठेउलो तर्क हुनसक्छ । कुनै समय हामी सत्यवती मा. वि.को व्यवस्थापन समितिमा रहँदा शिक्षा निःशुल्क भएको कुनै शुल्क लिन नपाइने सरकारी नीति रहेको, विद्यालयको भौतिक पूर्वाधार निर्माण र निजी शिक्षक समेत राख्नुपर्ने आवश्यकता भएको अवस्थामा कुनै आर्थिक श्रोत नभई विद्यालय चलाउन कठिन भएको तथा विद्यार्थी र अभिभावकसँग कुनै शुल्क लिनु ठूलो जोखिम उठाउनु थियो । सोही अवस्थामा हामी समितिले आवश्यक उचित शुल्क लिने निर्णय गरी विद्यालय व्यवस्थापन र सञ्चाल गर्नपुग्यौ, विरोधका आवाज आउँदै गरे, काम हुँदैगयो,विद्यालय सञ्चालन गरियो, विद्यालयको अवस्था राम्रो हुँदैभयो । त्यसको प्रभाव सो विद्यालय राष्ट्रियस्तरमा गणना हुनसफल भयो तथा हालको सत्यवती भएर जिल्लाको शैक्षिक आकर्षण केन्द्र भएर रहन गएको छ । यस्तै उपयुक्त जोखि र महत्वपूर्ण निर्णय व्यास नगरपालिकाले गर्नुपर्ने आजको शैक्षिक दुरावस्थाको समाधानको उपयुक्त उपाय हो भन्ने देखिन्छ ।
विद्यालय स्थापना र सञ्चालनका लागि भौगोलिक क्षेत्र र मानव वस्तीको आधारमा रेखाङ्कन र क्षेत्राङ्कन गरी अनुमति प्रदान गरिने व्यवस्था गरिनु उपयुक्त हुन्छ । एउटा भइरहेको विद्यालयलाई अवरोध हुने गरी अर्काे नयाँ विद्यालय सञ्चालन गर्न दिनुहुँदैन । यो पहिलो पक्ष रह्यो भने हाल भइरहेको कुनै विद्यालयको भौतिक अवस्था र क्षमताका आधारमा सो विद्यालयमा पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था कायम गराउनु दोस्रो पक्षको रुपमा लिन सकिन्छ । यस मापनका आधारमा व्यास नगरपालिकामा कति सरकारी विद्यालयको आवश्यकता पर्छ भन्ने विषयलाई माथि उल्लेख गरिएको आँकडा अनुसार लिदा करिव २७ बटा विद्यालय भए पुग्ने देखिन आउँछ । यसमा भौगोलिक स्थान, जनसंख्याको अवस्था र विशेष अवस्थालाई लिदा १५–२० % थप गर्दा करिव ३३ संख्यामा भए पर्याप्त हुने देखिन्छ । अव रह्यो यो विद्यार्थी संख्या कसरी व्यवस्थापन गर्ने त भन्ने सन्दर्भमा नगर पालिकाको केन्द्रमा रहेको सत्वती मा वि मा हाल करिव ३०००को संख्यामा विद्यार्थी रही सञ्चालन भएको एवम् सँगै रहेको वालमन्दिर मा. वि र त्यसको निकट रहेको अर्काे शिवपाञ्चायन मा वि को औचित्य नरहेको देखिन्छ । ती तिन बटैलाई एकीकृत गरी मा वि र प्रा वि कक्षाहरु अलग–अलग भवनमा राख्नेगरी सहज सञ्चालन व्यवस्था गर्न सकिन्छ भने यसबाट करिव ४००० विद्यार्थी व्ववस्थापन गर्न सकिन्छ । त्यस्तै निर्मल मा.विको भौतिक क्षमताका सत्यवती भन्दा वढी रहेकोले त्यसमा पनि जलदेवी मा.वि, आदिकवि भानुभक्त मा.वि. र मत्स्यकन्या मा. वि. तथा आसपास क्षेत्रका समेत अन्य विद्यार्थी समावेश गरी करिव ४०००को सख्यामा त्यहाँ व्यवस्थापन गर्न सकिन्छ । त्यस्तै सिद्धेश्वरी मा.वि, अमरज्योति मा. वि र जनमिलन प्रा.वि समेतका विद्यालयहरुको एकीकरण गरी व्यवस्थित र मजवुत विद्यालय बनाउन र स्तरीय पठनपाठन गराउन सहज हुनजान्छ । यसले करिव ७०० को संख्यामा विद्यार्थी थेग्न सक्छ । त्यसरी नै वाराही मा.वि. फराकचउर, अमरसिँह मा.वि.धरम्पानी, चण्डिका आधारभूत विद्यालय वोर्धन समेतको एकीकृत रुपमा लिदा तथा भानु मा.वि र सर्वज्योति मा.वि. समेतका आसपासका स–सना प्रावि समेतको अलग–अलग अस्तित्वको आवश्यकता देखिदैन । त्यस्तै अन्यमा जनजुक्त शाही मा. वि., उदय मा. वि. तथा सिन्धु प्रा. वि. समेतको पनि एकरुपमा अपनाउन सकिन्छ । चण्डीदेवी र शिव मा. वि समेतकाको पनि अलग–अलग अस्तित्वको औचित्य देखिदैन । त्यसरी नै अन्य स्थानहरुमा पनि वास्तविकता र औचित्यका आधारमा उपयुक्त यो नीति अवलम्वन गरेर व्यवस्थित र मजवुत विद्यालयहरुको निर्माण गरी उचित भौतिक निर्माण र योग्य जनशक्तिको मिलान गरी स्तरीय पठनपाठनको व्यवस्थान गराई हाल भएका समस्याहरु सजह समाधान गर्न सकिन्छ ।
निजीस्तरको लगानीमा कम्पनीका रुपमा रहेका सस्थागत विद्यालयहरुको पनि यस पालिकामा उचित व्यवस्था हुन सकेको देखिदैन । निजी तथा आवासीय विद्यालय सञ्चालनका लागि नगरपालिकाले न्यूनतम मापदण्ड जो यस लेखमा माथि नै उल्लेख भई सकेको छ , सोका अतिरिक्त स्थानीय व्यवहारिकता र औचित्वयका आधारमा भौगोगिक रेखाङ्कन र क्षेत्राङ्ककन गरी सञ्चालनको रुपरेखा तैयार गरी नीतिगत आदेश दिने, त्यसमा सहमत सहितको व्यवस्थापन हुन सके सञ्चालन गर्ने अन्यथा एकीकृत वा विलुप्ति हुने अवस्था गराइदिनु उत्तम हुन्छ । यस व्यवस्था हुनसकेको खण्डमा टोल–टोल र घरघरै विद्यालयको वोर्ड झुण्डले तथा अनावश्यक वोझको रुपमा विद्यालय हुने अवस्थाको अन्त हुनगई स्तरीतयता कायम हुनसक्छ । यो व्यवस्थाविना नगरको शैक्षिक अवस्थामा सुधार र गुणस्तरीय शिक्षाको अपेक्षा र राज्य तथा न.पाको लगानीको उचित प्रतिफलको आशा गर्नु निरर्थक हुनजान्छ । यसको लागि नगरपालिकाको प्रतिवद्धता र जोखिम दुवै रहेका हुन्छन्, उपयुक्त यो उल्लेख गरिएको उपाय लागुगरी उचित समाधान निकाल्न सकिन्छ । यथास्थितिमा नगर शैक्षिक क्षेत्र चल्नदिने अवस्था सर्वथा हनिकारक छ । विना प्रतिवद्धता जोखिमका आधारमा प्रतिफलको आशा सम्भव नहुने प्राकृतिक नियम र आजको विश्वको बदलिदो प्रविधिसँग मेल खाने गरी नवप्रतिभा तथा नयाँ पिडीलाई शिक्षा प्रदान गर्नु आजको पुस्ता र राज्य सञ्चालकको कर्तव्य हुनजान्छ । यही सेरोफेरो र वास्तविकताको विचार गरी परम्परागत आधारमा रहेका विद्यालय सञ्चालन शैली बदलेर यो नयाँ ढंङ्गको उचित शिक्षा नीति यस नगरपालिकाले अपनाउनु हालको शैक्षिक समस्या समाधानको उपयुक्त उपाय हुनसक्छ ।
विष्णुप्रसाद वाग्ले (भानु–६, हालः दमौली, तनहुँ)