टीभी हेर्न नदिएको भन्दै ३२ बर्षीय छोराले गरे बाबुको हत्या

सर्वज्योति
  • ख-
  • ख+

रुपन्देही । बाँकेको बैजनाथ गाउँपालिकामा टीभी हेर्न नदिएको रिसमा छोाराले बुवाको हत्या गरेका छन् । बैजनाथ गाउँपालिका- २ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले शनिबार राति ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।
राति टीभी हेरिरहेका बेला बुवाले रोकेपछि रिसाएर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि राति नै छिमेकीले खबर गरेर घरमा प्रहरी पुगे पनि भविलाल फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालले बाबुछोराको सामान्य विवादमा यस्तो घटना भएको नेपाल प्रेसलाई बताइन् ।
‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ, तर घरका अन्य सदस्य र छिमेकीहरुसँग बुझ्दा बुवाले टीभी हेर्न रोकेपछि रिसाएर हतियारले हानेको कुरा छ । स्थानीयले सूचना दिएसँगै प्रहरी तत्काल घटनास्थल पुगेको थियो, तर भविलाल फरार भइसकेका थिए, प्रहरीले खोजी जारी राखेको छ’, उनले भनिन् ।
भविलाल अविवाहित हुन् । लागूऔषध सेवनकर्ता उनी दुई पटक सुधार केन्द्रमा बसेर फर्किएको बैजनाथ गाउँपालिकाको वडा नं २ का अध्यक्ष राजु रुचालले बताए ।
स्थानीयका अनुसार मृतक टोपबहादुरका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा बिहेबारी गरेर अलग्गै बसेका छन् ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्