तनहुँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२६ को अन्तरक्रिया कार्यक्रम आइतबार दमौलीमा सम्पन्न भयो । मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२५ मा तनहुँमा भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु सार्वजानिक गरेका थिए । तथ्यांक अनुसार तनहुँमा सन २०२५ मा को जनवरी देखी जुनसम्मको ६ महिनाको मानवअधिकार उल्लंघन तथा ज्यादतीका २१ वटा घटनाबाट २१ जना पीडित भएका छन् । यो अवधिमा भएको २१ वटा मानवअधिकार उल्लंघनका घटनामा १४ महिला र ७ पुरुष सहित २१ जना पीडित भएका छन् । जसमा हत्याका घटनामा ४ वटा, बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुव्र्यहवार तर्फ ८ वटा घटना भएका छन् । त्यस्तै मानव बेचविखनमा २, कुटपिट, धम्की र दुव्र्यहवारको घटनामा ४, बालअधिकार तर्फ ३ र सम्पत्ती क्षतीमा १ वटा घटना भएका छन् ।
महिला मानव रक्षक सन्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नेपालको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा इन्सेकको महत्वपुर्ण भुमिका रहेको बताए ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर राजु अधिकारीले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए ।
नेकपा एमालेका जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारीले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए । अहिले मानवअधिकार उल्लघंनको घटना सार्वजानिक गर्दा भविष्यमा त्यस्ता घटना कम हुने विश्वास पनि उनले व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्व बास्तोलाले मानवअधिकारको संरक्षण र सम्वरधनको जिम्मेबारी राज्य पक्षको भएहुँदा राज्यले आफ्नो जिम्मेबारी पुरा गरेको छ की छैन भन्ने बारेमा इन्सेकले खबरदारी गर्दै आएको बताए ।
नेपाली काँग्रेसकी जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारीले मानवअधिकारको संरक्षणकोलागि नेपाली काँग्रेस सँधै प्रतिबद्ध रहेको बताइन् । लक्षित सुदायमा मानवअधिकार प्रति सचेतना जगाउन सकेमा मानवअधिकारको संरक्षण र सम्बद्र्धन हुने उनले बताइन् ।








