रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, सुक्खा बन्दरगाहका गाडीसमेत बगे

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।
ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले अहिलेसम्म मानवीय क्षति भएको पुष्टि भइसकेको छैन । ‘तर भन्सार क्षेत्रका गाडी बगाउने क्रममा त्यहाँ रहेका केही चालक, सहचालक पनि बगे कि भन्ने अनुमान छ । तर एकिन भइसकेको छैन,’ उनले भने ।
प्रारम्भिक जानकारी अनुसार बाढीले अन्दाजी ६–७ वटा ईभी गाडीहरु बगाएको भन्ने छ । त्यहाँ केही मानिसहरु पनि फसेको जानकारीमा आएको छ । उद्धार टोली परिचालित भएको छ,’ उनले भने ।
बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा पनि क्षति पुगेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।
मैलुङ प्रहरी चौकीका प्रहरीहरु जोखिमका कारण सुरक्षित स्थानमा गएको उनले बताए ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्