कैलाली। कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ।
छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति करिब १२स्३० बजे सर्पले टोकेको थियो।
प्रहरीले प्रारम्भिक जानकारीअनुसार सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन्।
उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिए।
कमला आउजीका श्रीमान् भारत बस्छन्। घरमा एक्लै तीन सन्तान हुर्काइरहेकी उनको सर्पको टोकाइबाट ज्यान गएको हो । सुरुमा घरमै सुतिरहेको अवस्थामा सर्पले टोकेको बताइए पनि महिनावारी अवस्थामा छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिममा छाउ गोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्ध अभियान चलिरहे पनि अझै महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य भएको छैन ।
नेपाल प्रेस








