तनहुँ ।
नेपाल निजामती कर्मचारी संगठनको तनहुँका टोलीले हालै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएकी माननीय भगवती न्यौपानेलाई भेटेका छन् । कर्मचारी संगठन तनहुँका अध्यक्ष भगवान त्रिपाठीको नेतृत्वमा गएको टोली र कर्मचारी संगठन केन्द्रीय कार्यसमिति का पदाधिकारीहरुले मन्त्री न्यौपानेलाई सम्युक्त रूपमा भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा संगठनका पदाधिकारीहरूले मन्त्री न्यौपानेलाई फूलगुच्छा प्रदान गर्दै आगामी कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रममा बोल्दै जिल्ला कार्य समिति, तनहुँका प्रतिनिधिहरूले निजामती सेवा क्षेत्रको सुदृढीकरण, कर्मचारीहरूको हकहित, सेवा सुविधा, कार्यक्षमता वृद्धि लगायतका विषयमा मन्त्रीज्यूको नेतृत्वमा ठोस पहल र सुधारको अपेक्षा गरिएको बताए।
उनीहरूले विश्वास व्यक्त गर्दै भने, “माननीय न्यौपानेको सक्षम नेतृत्वमा निजामती प्रशासन प्रणाली अझ सक्षम, उत्तरदायी र जनमुखी बन्नेछ।”
कार्यक्रमको समापनमा मन्त्री न्यौपानेले सबै प्रतिनिधिहरूलाई धन्यवाद दिँदै कर्मचारी संगठनसँग समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेेकी छन् ।








